मंगलवार, श्रावण १७ २०७९
साउन, १७ गते वीरगञ्ज । पोखरा बिश्वबिद्धालयले जडिबुटीजन्य औसधिको बैज्ञानिक अनुसन्धान कार्यमा सहकार्य गर्ने भएको छ। विश्वविद्यालय र वीरगञ्जस्थित जडीबुडीजन्य औषधि उत्पादक उद्योग फ्ल्युर हिमालयन लिमिटेडका बीच जडीबुटीजन्य औषधिको वैज्ञानिक अनुसन्धान कार्यमा सहकार्यका लागि एक समारोहपूर्वक सहमतिपत्रमा हस्ताक्षर सम्पन्न भएको हो ।
सहमतिपत्रका अनुसार दुवै संस्थाले जडीबुटीजन्य उत्पादनहरूको सुरक्षितता र प्रभावकारिता, मानकीकरण, बजार अध्ययन, परीक्षण विधि सत्यापन, वैज्ञानिक अनुसन्धानपत्रहरूको प्रकाशन तथा विद्यार्थीहरूको प्रशिक्षणमा सहकार्य गर्ने छन् । सहमतिपत्रमा पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान संकायका डीन डा. अमर नागिला तथा फ्ल्युर हिमालयन लिमिटेडकी अध्यक्ष श्रीमती मिनू पिया अमात्यले हस्ताक्षर गर्नुभयो ।
समारोहमा बोल्दै पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान संकायका डीन डा. अमर नागिलाले दुवै संस्थाको सहकार्यले जडीबुटीजन्य औषधिको वैज्ञानिक अनुसन्धान कार्यमा ठोस योगदान दिनसक्ने विश्वास व्यक्त गर्नुभयो । फ्ल्युर हिमालयन लिमिटेडकी अध्यक्ष श्रीमती मिनू पिया अमात्यले पोखरा विश्वविद्यालयसँग सहकार्य हुन लागेकोमा खुसी प्रकट गर्दै आगामी दिनहरूमा यो सहकार्य अझै सुदृढ हुँदै जाने आशा प्रकट गर्नुभयो ।
समारोहमा पोखरा विश्वविद्यालयका स्कूल अफ हेल्थ एण्ड एलाईड साइन्सेजका उपप्राध्यापक अतिस कौण्डिन्न्यायनले पोखरा विश्वविद्यालयमा औषधि विज्ञान विषयको सूत्रपात गर्नुहुने प्राध्यापक पुरूषोत्तम बस्नेत तथा फ्ल्युर हिमालयन लिमिटेडका संस्थापक स्वर्गीय महेन्द्रबहादुर अमात्यको विश्वविद्यालय र उद्योगबीचको व्यवहारिक सहकार्यको सपनाको सम्झना गर्दै उक्त सपनालाई मूर्तरूप गर्न वर्तमान पुस्ताले मन, वचन र कर्मले लाग्नुपर्ने विचार व्यक्त गर्नुभयो । समारोहमा बोल्दै फ्ल्युर हिमालयन लिमिटेडका प्रबन्ध निर्देशक श्री अजयबहादुर प्रधानाङ्गले दुवै संस्थाबीचको सहकार्य प्रारम्भमा साना तर सुदृढ पाइलाका साथ अघि बढ्ने र भविष्यमा व्यापकता हासिल गर्दै जाने आशा प्रकट गर्नुभयो । समारोहमा बोल्दै त्रिभुवन विश्वविद्यालय आयुर्वेद क्याम्पसका प्राचार्य डा. शिवमङ्गल प्रसाद तथा वरिष्ठ आयुर्वेद चिकित्सक डा. रमेश मिश्रले जडीबुटीजन्य औषधिको वैज्ञानिक अनुसन्धान हुनुपर्नेमा जोड दिनुभएको थियो । पोखरा बिश्वबिद्धालय