बुधवार, जेठ २४ २०८०
जेठ, २४ जनकपुर । मधेश प्रदेश सरकारले प्रदेशका सामुदायिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत छात्रालाई एक थान ल्यापटप सहयोग स्वरुप उपलब्ध गराउने घोषणा गरेको छ । आर्थिक बर्ष २०८०-८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेशले छात्रालाई कम्प्युटर प्रविधिमा पहुँच पुर्याउन उद्देश्यले छात्रालाई कम्प्युटर प्रदान गर्ने नीति लिएको हो ।
मदेश प्रदेश सरकारले आर्थिक बर्ष २०८०-८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रत्येक जिल्लाका १–१ वटा विद्यालयलाई नमूना विद्यालयको रुपमा विकास गर्न राष्ट्रिय स्तरमा ख्याती प्राप्त विद्यालयहरुसँग व्यवस्थापकीय सम्झौता गर्ने नीति समेत लिएको छ। त्यसैगरी सामाजिक रुपान्तरण तथा लैङ्गकि शसक्तिकरणका लागी मुख्यमन्त्री "बेटि पढाउ बेटि बचाउ" अभियान अन्तर्गत छोरी बिमा, छात्रवृत्ति, लोक सेवा तयारी कक्षा, साइकल वितरण तथा छोरी माथि समाजमा रहेका विभेद अन्त्यगर्ने कार्यक्रमहरुलाइ निरन्तरता दिने नीति लिएको छ।
निति कार्यक्रममा मधेश प्रदेश सरकारले बारा जिल्लामा “भेटनरी कलेज एण्ड रिसर्च सेन्टर” को स्थापना गर्ने र मधेश कृषि विश्वविद्यालय अन्तर्गत सम्भाव्यता अध्ययन गरी कलेज स्थापना गर्ने उल्लेख गरिएको छ। त्यस्तै शिक्षाको गुणस्तरीयता अभिवृद्धि गर्न योगदान दिएका शिक्षकको कदर गर्दै वस्तुपरक आधारमा “एक पालिका एक उत्कृष्ठ शिक्षण अभियान अन्तर्गत एक एक जना शिक्षकलाई पुरस्कृत गर्ने व्यवस्था मिलाउने नीतिमा उल्लेख छ ।
त्यस्तै गुणस्तरीय शिक्षाको लागि त्रिपक्षीय (विद्यार्थी, अभिभावक र शिक्षक) बीचको सम्बन्धलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने नीति लिईने भनिएको छ । प्रदेश भित्रका सबै बिद्यालयहरुको खानेपानी तथा शरसफाइको लागि अनलाइन डाटाबेस तयार गरि सोको लागि आवस्यक पुर्वाधार निर्माणको तयारीमा जुट्ने नीति लिएको छ।
नितिकार्यक्रममा प्रारम्भिक बाल समुहका बलाबिका (३ देखि ४) लाई प्रारम्भिक बिकासको अनुभव सहित कक्षा १ मा भर्ना गर्ने उल्लेख गरिएको छ।