शनिवार, जेठ १९ २०८१
जेठ, १९ काठमाडौं । चिकित्सा शिक्षा आयोगले स्नातक तह अन्तर्गत एमबीबीएस, बीडीएस, नर्सिङ पढ्न चाहने विद्यार्थीहरुले प्रवेश परिक्षाको लागि अब कक्षा १२ को नतिजा कुर्न नपर्ने भएको छ। चिकित्सा शिक्षा आयोगले जारी गरेको क्यालेन्डर अनरुप स्नातक तहको प्रवेश परीक्षा दिन चाहनेहरूले अब कक्षा १२ को नतिजा पर्खनु नपर्ने भएको हो।
प्रमाणपत्र तहदेखि स्नातकोत्तर-डीएम/एमसीएचसम्मको प्रवेश परीक्षाका लागि जारी गरेको शैक्षिक क्यालेन्डर अनुसार अबदेखि कक्षा १२ को नतिजा कुरिरहेका विद्यार्थीले समेत यो प्रवेश परीक्षाका लागि आवेदन दिन पाउने भएका छन् ।
एमबीबीएस, बीडीएस, नर्सिङसहित स्नातक तहको प्रवेश परीक्षाका लागि यस वर्षदेखि असार तेस्रो साता नै आवेदन लिने तालिका तय गरिएको छ। प्रवेश परीक्षा भदौमा हुनेछ भने पढाई मंसिरदेखि सञ्चालन गरिनेछ ।
चिकित्सा शिक्षाको स्नातक तहमा गतवर्ष १३ वटा विषयमा ४० हजार विद्यार्थी प्रवेश परीक्षामा सहभागी भएका थिए । तर परीक्षा तालिकामा भएको ढिलाइले धेरै विद्यार्थी भर्ना हुन आएनन् र सिट खाली रह्यो ।
चिकित्सा शिक्षा आयोगले पहिलो पटक प्रमाणपत्र तहको नर्सिङ कार्यक्रमलाई पनि शैक्षिक क्यालेन्डरमा समेटेको छ । आयोगले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्-सिटीइभिटीलाई प्रमाणपत्र तहको प्रवेश परीक्षा असारमा गरेर असोजदेखि विद्यार्थी भर्ना गर्न भनेको छ । गतवर्ष २ हजार ८० सिटका लागि ५२ शिक्षण संस्थाका १२ हजार विद्यार्थी नर्सिङ प्रवेश परीक्षामा सहभागी भएका थिए ।
यसका अलावा आयोगले चिकित्सा शिक्षाका स्नातकोत्तर र डीएम एमसीएच कार्यक्रमको पनि प्रवेश परीक्षा, भर्ना र कक्षा सञ्चालनको शैक्षिक क्यालेन्डर जारी गरेको छ । विगतमा चिकित्सा शिक्षाको स्नातक तहको प्रवेश परीक्षा कार्तिकको अन्तिममामा हुने र कक्षा सञ्चालनका लागि फागुनसम्म कुर्नुपर्ने बाध्यता थियो ।
