Aug 13 2026 | २०८३, श्रावण २८ गते

विदेशी सम्बन्धन कलेजमाथि कारबाहीको माग गर्दै शिक्षामन्त्रीसमक्ष अनेरास्ववियुद्वारा १५ बुँदे ज्ञापनपत्र पेश

विदेशी सम्बन्धन कलेजमाथि कारबाहीको माग गर्दै शिक्षामन्त्रीसमक्ष अनेरास्ववियुद्वारा १५ बुँदे ज्ञापनपत्र पेश

  • 404
    SHARES

  • विदेशी सम्बन्धन कलेजमाथि कारबाहीको माग गर्दै शिक्षामन्त्रीसमक्ष अनेरास्ववियुद्वारा १५ बुँदे ज्ञापनपत्र पेश

    १५, पुस/ काठमाडौँ । अनेरास्ववियु (अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन) ले विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी नेपालमा सञ्चालनमा रहेका कलेजहरूले शैक्षिक क्षेत्रमा गम्भीर विसङ्गति सिर्जना गरेको आरोप लगाउँदै छानबिन र कडा कारबाहीको माग गरेको छ।

    मंगलबार विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी नेपालमा सञ्चालनमा रहेका केही कलेजहरूले विद्यार्थीको भविष्यमा गम्भीर खेलवाड गरेको, समय र आर्थिक शोषण बढाएको तथा समग्र शैक्षिक वातावरणलाई प्रतिकूल बनाएको ठहर गर्दै शिक्षामन्त्रीसमक्ष १५ बुँदे मागसहित ज्ञापन पत्र बुझाएको हो।

    विदेशी शिक्षण संस्थासम्बन्धी स्पष्ट कानुनी व्यवस्था नहुँदा समस्या बढेको भन्दै यस्ता संस्थालाई व्यवस्थित गर्न विदेशी शिक्षण संस्थाको प्रशासनिक अभिलेख, सञ्चालन अनुमति तथा नवीकरण प्रक्रिया सम्बन्धित मन्त्रालयअन्तर्गत राखी गुणस्तर सुनिश्चितता, अनुगमन तथा मापदण्ड निर्धारणको जिम्मेवारी विश्वविद्यालय अनुदान आयोग (UGC) लाई दिनुपर्ने ज्ञापनपत्रमा उल्लेख गरेको छ।

    विद्यार्थी ठगी रोक्न कडा कदम आवश्यक ज्ञापन पत्रमा कक्षा १०+२ पछि ‘फाउन्डेसन कोर्स’ का नाममा अनावश्यक कार्यक्रम सञ्चालन गरी विद्यार्थीमाथि अतिरिक्त आर्थिक र समयको भार थपिएको, विभिन्न प्रोफेसनल डिप्लोमा कोर्स सञ्चालन गरी अन्तिम वर्षमा टपअफ गराएर ठगी गरिएको उल्लेख गर्दै यस्ता गतिविधि तत्काल बन्द गर्न अनेरास्ववियुको माग छ।

    साथै तोकिएको मापदण्ड पूरा नगर्ने, एकभन्दा बढी विश्वविद्यालयबाट सम्बन्धन लिएर सञ्चालन गरिएका, नेपाली र विदेशी दुवै विश्वविद्यालयको सम्बन्धनमा एउटै स्थानमा पठनपाठन गराइरहेका तथा शैक्षिक कार्यक्रमको अवधि अनावश्यक रूपमा बढाएर विद्यार्थी ठग्ने कलेजहरूको दर्ता तत्काल खारेज गर्नुपर्ने बताएको छ।

    अनेरास्ववियुले दि ब्रिटिश कलेजलगायत यस्ता गतिविधिमा संलग्न सबै कलेजमाथि कडा कारबाही गर्न आग्रह गरेको छ।

    अनेरास्ववियुले संगठनले ठगीमा परेका विद्यार्थीहरूको अध्ययन निरन्तरताका लागि वैकल्पिक व्यवस्था र उचित क्षतिपूर्तिको प्रबन्ध गर्नुपर्ने माग गरेको छ। साथै, नेपालमा सञ्चालनमा रहेका सबै कार्यक्रम र विद्यार्थीसम्बन्धी विवरण विश्वविद्यालय अनुदान आयोगमा बुझाई हरेक वर्ष अनिवार्य अद्यावधिक गर्नुपर्ने उल्लेख गरिएको छ।

    छात्रवृत्ति, QAA र गुणस्तर मापदण्ड अनिवार्य कम्तीमा १० प्रतिशत विद्यार्थीका लागि अनिवार्य निःशुल्क छात्रवृत्ति व्यवस्था गर्नुपर्ने, छात्रवृत्ति पाउने विद्यार्थीको नामावली प्रत्येक सेमेस्टरमा कलेजको वेबसाइटमार्फत सार्वजनिक गर्नुपर्ने माग पनि गरिएको छ। त्यस्तै, नेपालमा सञ्चालनमा रहेका सबै कलेजले अनिवार्य रूपमा Quality Assurance and Accreditation (QAA) प्राप्त गरेको हुनुपर्ने उल्लेख छ।

    भौतिक पूर्वाधार र शैक्षिक मापदण्डमा जोड अनेरास्ववियुले कलेजहरूमा न्यूनतम १०–१० प्रतिशत विदेशी विद्यार्थी र विदेशी अध्यापक अनिवार्य रूपमा समावेश गर्नुपर्ने, सञ्चालनमा रहेका कार्यक्रमहरूको समकक्षता नेपाली विश्वविद्यालयका पाठ्यक्रमसँग बराबरी हुने गरी पाठ्यक्रम विकास गर्नुपर्ने तथा पारदर्शी परीक्षा प्रणाली लागू गर्नुपर्ने माग गरेको छ। यसका साथै, भर्ना प्रक्रिया वर्षमा एक पटक मात्र सञ्चालन गर्नुपर्ने, भौतिक पूर्वाधार (भवन, प्रयोगशाला, पुस्तकालय, ICT आदि) तोकिएको मापदण्डअनुसार हुनुपर्ने तथा सम्बन्धन दिने विदेशी विश्वविद्यालय विश्व वरियतामा कम्तीमा १००० भित्र परेको हुनुपर्ने र न्यूनतम १० प्रतिशत प्रत्यक्ष लगानी गरेको हुनुपर्ने मागसमेत समावेश छ।

    अनेरास्ववियुले कलेजहरूले लिने शुल्क नेपाली विश्वविद्यालयअनुसारको मापदण्ड बनाएर यथाशीघ्र लागू नभए चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएको छ।

    मागहरुः
    १. विद्यमान ऐन तथा कानुनमा विदेशी शिक्षण संस्था सम्बन्धी स्पष्ट व्यवस्था नहुँदा उत्पन्न समस्यालाई मध्यनजर गर्दै, यस्ता शिक्षण संस्थालाई व्यवस्थित गर्न यथाशीघ्र आवश्यक कानुनी प्रबन्ध गरिनुपर्ने ।
    २. विदेशी शिक्षण संस्थाहरूको प्रशासनिक अभिलेख, सञ्चालन अनुमति तथा नवीकरण प्रक्रिया सम्बन्धित मन्त्रालय मार्फत रहने व्यवस्था गरी, गुणस्तर सुनिश्चितता, अनुगमन तथा मापदण्ड निर्धारणको जिम्मेवारी विश्वविद्यालय अनुदान आयोग (UGC) लाई प्रदान गरिनुपर्ने ।
    ३. कक्षा १०+२ पश्चात् अध्ययन गर्न सकिने कोर्सलाई ‘फाउन्डेसन कोर्स’को नाममा सञ्चालन गरी विद्यार्थीमाथि समय र आर्थिक भार थप्ने एवं दुई वर्षको विभिन्न खाले प्रोफेसनल डिप्लोमा कोर्षहरु सन्चालन गरेर अन्तिम वर्षमा टपअफ गराई विद्यार्थीहरुलाई ठगी गर्ने कार्य तुरुन्त बन्द गरिनुपर्ने ।
    ४. तोकिएको मापदण्ड पूरा नगर्ने, एकभन्दा बढी विश्वविद्यालयबाट सम्बन्धन लिएर सञ्चालन गरिएका, नेपाली र विदेशी गरि दुवै विश्वविद्यालयको सम्बन्धन लिएर एकै ठाउँमा पठनपाठन गराइरहेका, तीन वर्षको स्नातक तहको शैक्षिक कार्यक्रमलाई चार वर्ष र एक वर्षको स्नातकोत्तर तहको शैक्षिक कार्यक्रमलाई दुई वर्षको बनाइ पठनपाठन गराई विद्यार्थी ठग्ने काम भईरहेकोले त्यस्ता ठगीमा संलग्न दि ब्रिटीश कलेज लगायतका सबै कलेजहरूको दर्ता तत्काल खारेज गरिनुपर्ने ।
    ५. दि ब्रिटीश कलेज लगायतका सबै कलेजहरूद्वारा अन्याय तथा ठगीमा परेका विद्यार्थीहरूको अध्ययन निरन्तरताका लागि वैकल्पिक व्यवस्था गरी उचित क्षतिपूर्तिको प्रबन्ध गर्नुपर्ने ।
    ६. नेपालमा सञ्चालनमा रहेका कार्यक्रमहरू तथा विद्यार्थी सम्बन्धी सम्पूर्ण विवरण विश्वविद्यालय अनुदान आयोगमा बुझाई हरेक वर्ष अनिवार्य रूपमा अद्यावधिक गर्नुपर्ने ।
    ७. कम्तीमा १० प्रतिशत विद्यार्थीहरूका लागि अनिवार्य निःशुल्क छात्रवृत्ति व्यवस्था गर्नुपर्ने तथा प्रत्येक सेमेस्टरमा छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूको नामावली कलेजको वेबसाइट मार्फत सार्वजनिक गर्नुपर्ने ।
    ८. नेपालमा सञ्चालनमा रहेका सबै कलेजहरू (संस्थागत तथा शैक्षिक दुवै) को अनिवार्य रूपमा Quality Assurance and Accreditation (QAA) प्राप्त गरेको हुनुपर्ने ।
    ९. सञ्चालनमा रहेका कलेजहरूमा न्यूनतम १०–१० प्रतिशत विदेशी विद्यार्थी र विदेशी अध्यापक अनिवार्य रूपमा समावेश गर्नुपर्ने ।
    १०. सञ्चालनमा रहेका सबै कार्यक्रमहरूको समकक्षता निर्धारण गर्दा नेपाली विश्वविद्यालयका पाठ्यक्रमसँग बराबरी हुने गरी पाठ्यक्रम विकास गर्नुपर्ने ।
    ११. पारदर्शी परीक्षा प्रणाली लागू गर्दै, आन्तरिक मूल्याङ्कन तथा अन्तिम परीक्षा प्रणाली नेपालका अन्य विश्वविद्यालयसरह बनाउनुपर्ने ।
    १२. सञ्चालनमा रहेका कलेजहरूले नेपालको शैक्षिक क्यालेन्डर अनुसार वर्षमा एक पटक मात्र भर्ना प्रक्रिया सञ्चालन गर्नुपर्ने तथा वार्षिक भर्ना संख्या नेपाली विश्वविद्यालयहरूको मापदण्ड अनुसार कायम गर्नुपर्ने ।
    १३. सञ्चालनमा रहेका कलेजहरूको भौतिक पूर्वाधार (भवन, प्रयोगशाला, पुस्तकालय, ICT आदि) तोकिएको मापदण्ड अनुसार हुनुपर्ने ।
    १४. सम्बन्धन प्रदान गर्ने विदेशी विश्वविद्यालय विश्व वरियतामा कम्तीमा १००० भित्र परेको हुनुपर्ने र उक्त विश्वविद्यालयले सम्बन्धित कलेजमा न्यूनतम १० प्रतिशत प्रत्यक्ष लगानी गरेको हुनुपर्ने ।
    १५. कलेजहरुले लिने गरेको शुल्कलाई नेपाली विश्वविद्यालय अनुसारको मापदण्ड बनाएर यथाशीघ्र लागु गर्नुपर्ने ।

    images
    मंगलवार, पौष १५ २०८२१२:२७:०२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार