बुधवार, श्रावण २० २०८३
काठमाडौं, साउन २० । संस्कृति शिक्षा सदनको आयोजनामा जारी १०औँ टोप्स अन्तरविद्यालय फुटसल प्रतियोगिताको सिनियर ब्वाइजतर्फ गण्डकी बोर्डिङ स्कुलले शानदार प्रदर्शन गर्दै क्वाटरफाइनलमा स्थान बनाएको छ। बुधबार सम्पन्न खेलसँगै प्रतियोगिताको सिनियर ब्वाइजतर्फ क्वाटरफाइनल समीकरणसमेत पूरा भएको छ।
क्वाटरफाइनलमा गण्डकी बोर्डिङ स्कुल र संस्कृति शिक्षा सदन, निम्बल एकेडेमी र ल्यान्डमार्क एकेडेमी, ह्वाइट हेभेन एकेडेमी र किन्डर गार्टेन तथा स्वेता सदन र इडिफाइ इन्टरनेसनल स्कुलबीच प्रतिस्पर्धा हुनेछ।
गण्डकीले पहिलो खेलमा केजीएसलाई १–० गोलले पराजित गरेको थियो। उक्त खेलमा गण्डकीका आर्जन बास्तोलाले गरेको गोल नै निर्णायक बनेको थियो। दोस्रो खेलमा भने गण्डकीले पास्कल एकेडेमीलाई ५–० गोलले पराजित गर्दै समूह विजेताका रूपमा क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो।
पास्कलविरुद्ध गण्डकीका लागि आर्जन बास्तोला, सक्षम थेबे र विमोद सिलवालले समान १–१ गोल गरे भने अर्पन सेन्चुरीले २ गोल गर्दै टोलीको जित फराकिलो बनाए।
प्रतियोगिताका सेमिफाइनल तथा फाइनल खेल बिहीबार लोलाङस्थित संस्कृति शिक्षा सदनमा हुने आयोजकले जनाएको छ। विद्यालयस्तरका खेलाडीको प्रतिभा पहिचान तथा प्रतिस्पर्धात्मक खेल संस्कृतिको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।