Aug 12 2026 | २०८३, श्रावण २७ गते

विश्वविद्यालयको शैक्षिक क्यालेन्डर कार्यान्वयन गर्ने निर्णय, अब ६० दिनभित्र नतिजा अनिवार्य

विश्वविद्यालयको शैक्षिक क्यालेन्डर कार्यान्वयन गर्ने निर्णय, अब ६० दिनभित्र नतिजा अनिवार्य

  • 158
    SHARES

  • विश्वविद्यालयको शैक्षिक क्यालेन्डर कार्यान्वयन गर्ने निर्णय, अब ६० दिनभित्र नतिजा अनिवार्य

    काठमाडौं । सरकारले विश्वविद्यालय तथा उच्च शैक्षिक संस्थाहरूको शैक्षिक गतिविधिलाई निश्चित समयसीमामा बाँध्ने गरी ‘उच्च शिक्षाको राष्ट्रिय शैक्षिक क्यालेन्डर २०८३/०८४’ कार्यान्वयनमा ल्याउने निर्णय गरेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले विश्वविद्यालय अनुदान आयोग (यूजीसी)को सिफारिसअनुसार क्यालेन्डर स्वीकृत गरेको हो।

    कक्षा १२ को नतिजा प्रकाशनलाई मुख्य आधार बनाएर तयार गरिएको क्यालेन्डरले विश्वविद्यालयमा विद्यार्थी भर्ना, प्रवेश परीक्षा, पठनपाठन, आन्तरिक मूल्याङ्कन, अन्तिम परीक्षा तथा नतिजा प्रकाशनका लागि निश्चित समयसीमा तोकेको छ। यससँगै विश्वविद्यालयमा वर्षौंसम्म परीक्षा र नतिजा कुरिरहनुपर्ने अवस्थाको अन्त्य गर्ने लक्ष्य लिइएको छ।

    स्वीकृत क्यालेन्डरअनुसार शैक्षिक सत्र २०८३/०८४ का लागि स्नातक तहको वार्षिक तथा सेमेस्टर प्रणालीमा विद्यार्थी भर्ना आवेदन असारबाट सुरु हुनेछ। साउनभित्र प्रवेश परीक्षा सञ्चालन गरी नतिजा प्रकाशन गर्नुपर्नेछ भने भदौभित्र भर्ना प्रक्रिया सम्पन्न गरी सोही महिनाबाट कक्षा सञ्चालन गर्नुपर्नेछ।

    प्रथम सेमेस्टरको पठनपाठन भदौदेखि माघसम्म सञ्चालन हुनेछ। माघमै अन्तिम परीक्षा लिएर फागुनभित्र नतिजा सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिएको छ। दोस्रो सेमेस्टरको भर्ना तथा कक्षा सञ्चालन फागुनबाट सुरु भई २०८४ असारसम्म चल्नेछ। असारमा अन्तिम परीक्षा लिएर साउनमा नतिजा प्रकाशन गर्नुपर्नेछ।

    वार्षिक प्रणालीतर्फ २०८३ भदौदेखि २०८४ वैशाखसम्म पठनपाठन सञ्चालन गरी २०८४ जेठमा अन्तिम परीक्षा लिनुपर्नेछ। उक्त परीक्षाको नतिजा साउन वा भदौभित्र सार्वजनिक गर्नुपर्ने कार्यतालिका तय गरिएको छ।

    क्यालेन्डरले विश्वविद्यालयहरूलाई क्रमशः डिजिटल भर्ना प्रणाली र केन्द्रीकृत अनलाइन भर्ना प्रणाली अवलम्बन गर्नुपर्ने व्यवस्था गरेको छ। प्रवेश परीक्षा नहुने सामान्य शैक्षिक कार्यक्रममा कक्षा १२ को जीपीएका आधारमा भर्ना लिन सकिनेछ भने प्रोफेसनल तथा प्राविधिक विषयमा विद्यार्थीको अभिरुचि र क्षमता परीक्षणका लागि प्रवेश परीक्षा अनिवार्य गरिएको छ।

    कक्षा १२ को नतिजा प्रकाशन भएको ८ हप्ताभित्र पठनपाठन सुरु गरिसक्नुपर्ने व्यवस्था गरिएको छ। सेमेस्टर प्रणालीमा न्यूनतम ९० घण्टा वा १६ हप्ता पठनपाठन हुनुपर्नेछ भने सेमेस्टर ब्रेक अधिकतम दुई हप्तामात्र दिन पाइनेछ।

    परीक्षा सञ्चालन भएपछि नियमित परीक्षाको नतिजा अधिकतम ६० दिनभित्र र अन्तिम सेमेस्टरको नतिजा ३० दिनभित्र अनिवार्य रूपमा प्रकाशन गर्नुपर्नेछ। यसले विश्वविद्यालयमा परीक्षा सम्पन्न भए पनि लामो समयसम्म नतिजा नआउने समस्यालाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ।

    कक्षा १२ को मौका वा ग्रेड वृद्धि परीक्षामा सहभागी विद्यार्थीलाई समेत प्रवेश परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरिएको छ। त्यस्तै, स्नातक तहको अन्तिम नतिजा सार्वजनिक भएको ३० देखि ४५ दिनभित्र स्नातकोत्तर तहको भर्ना सम्पन्न गरी कक्षा सुरु गर्नुपर्ने व्यवस्था गरिएको छ।

    स्नातक तहको नतिजा प्रकाशनको समय दुई महिनाभित्र सीमित गरी बचत भएको समयलाई पठनपाठनमा उपयोग गर्ने रणनीति सरकारले लिएको छ। विश्वविद्यालय अनुदान आयोग ऐन, २०५० तथा अत्यावश्यक सेवा सञ्चालन ऐन, २०१४ को प्रावधानअनुसार क्यालेन्डर कार्यान्वयन गर्न देशभरका विश्वविद्यालय तथा उच्च शैक्षिक संस्थालाई निर्देशन दिइएको छ।

    सरकारको निर्णय कार्यान्वयनमा आए विश्वविद्यालयहरूमा देखिँदै आएको शैक्षिक क्यालेन्डरको अनिश्चितता, परीक्षा सञ्चालनमा हुने ढिलाइ तथा नतिजा प्रकाशनमा हुने लामो विलम्ब घट्ने अपेक्षा गरिएको छ। अब विश्वविद्यालयका शैक्षिक गतिविधि समयसीमा, डिजिटल प्रणाली र निश्चित क्यालेन्डरमा आधारित हुनेछन्।

    images
    आइतवार, श्रावण २४ २०८३०७:४९:१८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार