Oct 02 2026 | २०८३, आश्विन १६ गते

त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

  • 236
    SHARES

  • त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

    काठमाडौँ, १६ भदौ । सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि)सहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त गरेको छ। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले सम्बन्धित विश्वविद्यालयका उपकुलपतिको सिफारिसमा शिक्षाध्यक्ष तथा रजिस्ट्रार नियुक्त गरेका हुन्।

    नियुक्तिअनुसार त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्षमा प्राडा अञ्जना महर्जन सिंह र रजिस्ट्रारमा प्रा. रवीन्द्र शिवाकोटी नियुक्त भएका छन्। शिवाकोटी त्रिविको शिक्षा शास्त्र संकायका प्राध्यापक हुन् भने सिंह विज्ञान संकायकी प्राध्यापक हुन्।

    त्यस्तै, पूर्वाञ्चल विश्वविद्यालयको रजिस्ट्रारमा प्राडा पन्ना थापा, पोखरा विश्वविद्यालयको रजिस्ट्रारमा प्राडा निर्मला जमरकट्टेल र सुदूरपश्चिम विश्वविद्यालयको रजिस्ट्रारमा प्राडा तारादत्त भट्ट नियुक्त भएका छन्। यसैगरी मध्यपश्चिम विश्वविद्यालयको रजिस्ट्रारमा सहप्राध्यापक डा. सुदिप ठकुरी तथा राजर्षि जनक विश्वविद्यालयको रजिस्ट्रारमा डा. जीवन काफ्ले नियुक्त भएका छन्।

    नवनियुक्त शिक्षाध्यक्ष तथा रजिस्ट्रारहरूले सोमबार नै शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ लिएका छन्।

    शपथ ग्रहण कार्यक्रममा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालय सुधार तथा सर्वाङ्गीण विकासका लागि टिमवर्क र प्रभावकारी समन्वयका साथ काम गर्न नवनियुक्त पदाधिकारीलाई निर्देशन दिए। उच्च शिक्षा सुधारका लागि उपकुलपति, रजिस्ट्रारलगायत विश्वविद्यालयका पदाधिकारीबीच बलियो सहकार्य आवश्यक रहेको उनले बताए।

    IMG-20260901-WA0016.jpg

    मन्त्री पोखरेलले विश्वविद्यालयलाई उत्कृष्ट र अनुसन्धानमुखी संस्थाका रूपमा विकास गर्न सबै जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिँदै मन्त्रालयबाट आवश्यक सहजीकरण गरिने प्रतिबद्धता व्यक्त गरे। शिक्षा मन्त्रालयका सचिव चुडामणि पौडेलले विश्वविद्यालयको रूपान्तरण र कामलाई परिणाममुखी बनाउन नवनियुक्त पदाधिकारीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे। मन्त्रीका सल्लाहकार शैलेन्द्र झाले शैक्षिक गुणस्तर, परीक्षा प्रणाली सुधार तथा विश्वविद्यालयको क्षमता अभिवृद्धिमा सक्रिय भूमिका खेल्नुपर्ने बताए।

    त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले विश्वविद्यालयहरूबीच प्रभावकारी समन्वय गर्दै गुणस्तरीय जनशक्ति उत्पादनमा केन्द्रित हुनुपर्ने बताए। पोखरा विश्वविद्यालयकी नवनियुक्त रजिस्ट्रार प्राडा निर्मला जमरकट्टेलले आफूलाई प्राप्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाइन्।

    कार्यक्रममा विभिन्न विश्वविद्यालयका उपकुलपति तथा मन्त्रालयका उच्च अधिकारीलगायतको उपस्थिति थियो।

    images
    मंगलवार, भाद्र १६ २०८३०५:४२:५६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार