Oct 02 2026 | २०८३, आश्विन १६ गते

त्रिविका ११० शोधार्थीलाई विद्यावारिधि शोधप्रबन्ध लेखन गोष्ठी

त्रिविका ११० शोधार्थीलाई विद्यावारिधि शोधप्रबन्ध लेखन गोष्ठी

  • 202
    SHARES

  • त्रिविका ११० शोधार्थीलाई विद्यावारिधि शोधप्रबन्ध लेखन गोष्ठी

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र सङ्कायअन्तर्गत डीनको कार्यालयले विद्यावारिधि शोधार्थीका लागि तीनदिने ‘विद्यावारिधि शोधप्रबन्ध लेखन गोष्ठी’ आयोजना गरेको छ। भदौ १९ देखि २१ गतेसम्म कीर्तिपुरस्थित आमसञ्चार तथा पत्रकारिता केन्द्रीय विभागमा सञ्चालन हुने गोष्ठीमा १७ वटा विषयमा विद्यावारिधिमा भर्ना भएका ११० जना शोधार्थी सहभागी भएका छन्।

    FB_IMG_1788502628517.jpg

    २०८२ वैशाखदेखि २०८३ असार मसान्तसम्म शोधप्रस्ताव प्रतिरक्षा (Research Proposal Defence) गरी विद्यावारिधिमा भर्ना भएका शोधार्थीलाई लक्षित गरी गोष्ठी आयोजना गरिएको हो। सहभागी शोधार्थीले २०८५ असार मसान्तभित्र विद्यावारिधिको उपाधि प्राप्त गरिसक्नुपर्नेछ।

    विभिन्न कारणले विद्यावारिधि अनुसन्धानमा ढिलाइ भइरहेका शोधार्थीलाई अनुसन्धान लेखनमा सहजीकरण गर्ने उद्देश्यले गोष्ठीमा विभिन्न विषयमा अन्तरक्रियात्मक कक्षा सञ्चालन गरिँदैछ। गोष्ठीमा शोधप्रबन्ध लेखन, गुणस्तरीय तथ्याङ्क सङ्कलन तथा विश्लेषण, साहित्य समीक्षा, तथ्याङ्क प्रशोधन, अनुसन्धान दर्शन तथा सैद्धान्तिक अवधारणा, लेखन शैली र ढाँचा तथा विद्यावारिधि अनुसन्धानका क्रममा पुस्तकालयको प्रभावकारी प्रयोगलगायतका विषयमा सहजीकरण गरिनेछ।

    मानविकी तथा सामाजिकशास्त्र सङ्कायका डीन प्रा.डा. दुविनन्द ढकालले गोष्ठीलाई विद्यावारिधि पूरा गर्ने अन्तिम अवसरका रूपमा ग्रहण गरी अनुसन्धान लेखनमा समर्पित हुन शोधार्थीलाई आग्रह गर्नुभयो। शोधनिर्देशक र सहनिर्देशक तोकिइसकेको अवस्थामा अनुसन्धानका क्रममा देखिएका कठिनाइ समयमै पहिचान गरी शोधनिर्देशकको राय तथा परामर्शअनुसार अघि बढ्न उहाँले सुझाव दिनुभयो।

    सङ्कायका सहायक डीन डा. बामदेव अधिकारीले करिब दुई वर्षभित्र विद्यावारिधि अनुसन्धान सम्पन्न गर्न शोधार्थीलाई आग्रह गर्नुभयो। विद्यावारिधिलाई तपस्या र साधनाका रूपमा लिएर उत्कृष्ट अनुसन्धानमा केन्द्रित हुनुपर्ने बताउँदै उहाँले शोधार्थीको यात्रा सहज बनाउन गोष्ठी आयोजना गरिएको जानकारी दिनुभयो।

    कार्यक्रममा सहायक डीन डा. खोमराज खरेलले शोधार्थीले पालना गर्नुपर्ने आचारसंहिताबारे जानकारी गराउनुभएको थियो।

    तीनदिने गोष्ठीमा प्रा.डा. प्रेमसागर चापागाईं, प्रा.डा. जिवलाल सापकोटा, प्रा.डा. विनोद पोखरेल, प्रा.डा. ताराप्रसाद भुसाल, डा. भीमराज सुवाल, डा. टीकाराम गौतम, डा. रेशमबहादुर थापा पराजुली, डा. हेमलाल पाण्डे र पुस्तकालय अधिकृत विजय शर्माले विभिन्न विषयमा सहजीकरण गर्ने कार्यक्रम रहेको छ।

    images

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार