शनिवार, भाद्र २७ २०८३
काठमाडौं, भदौ २७ गते । आत्महत्या रोकथाम तथा मानसिक स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले त्रिभुवन विश्वविद्यालय (त्रिवि) का विद्यार्थीले बहुदिवसीय सचेतना अभियान सञ्चालन गरेका छन्।
त्रिवि केन्द्रीय मनोविज्ञान विभागअन्तर्गतको सेन्ट्रल एसोसिएसन अफ साइकोलोजी स्टुडेन्ट्स (CAPS) को आयोजनामा सञ्चालित अभियानको अन्तिम दिन त्रिवि कीर्तिपुरस्थित पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको सभाहलमा विशेष प्यानल छलफल तथा संवाद कार्यक्रम सम्पन्न भएको हो।

सन् २०२६ को विश्वव्यापी नारा ‘आत्महत्या रोकथामबारे संवाद सुरु गरौँ, दृष्टिकोण बदलौँ’ (Changing the Narrative on Suicide) लाई आधार बनाएर सञ्चालन गरिएको अभियानले आत्महत्या र मानसिक स्वास्थ्यसँग जोडिएको सामाजिक लाञ्छना तथा नकारात्मक धारणा हटाउँदै खुला संवादको वातावरण निर्माणमा जोड दिएको थियो।
अभियानको पहिलो दिन भदौ २५ गते त्रिवि केन्द्रीय पुस्तकालय, ब्वाइज होस्टेल अगाडि र शिक्षा विभाग अगाडि ‘साइड वाक’ तथा सचेतनामूलक स्टल सञ्चालन गरिएको थियो। स्टलमार्फत विद्यार्थी तथा सर्वसाधारणलाई मानसिक स्वास्थ्य, परामर्श र आत्महत्या रोकथामका उपायबारे जानकारी दिइएको थियो।
दोस्रो दिन कीर्तिपुर क्षेत्रका पाँच माध्यमिक विद्यालयमा ‘द साइन्स अफ ह्यापिनेस’ कार्यक्रम सञ्चालन गरिएको थियो। कार्यक्रममा विद्यार्थीलाई सकारात्मक मनोविज्ञान, तनाव व्यवस्थापन तथा मानसिक स्वास्थ्य प्रवर्द्धनका विषयमा जानकारी दिइएको थियो।
अभियानको अन्तिम दिन आयोजित प्यानल छलफलमा नेपाल प्रहरी अस्पतालका मनोरोग विभाग प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (SSP) डा. आशिष दत्तले प्रहरीको अध्ययन तथा अनुसन्धानमा आधारित आत्महत्यासम्बन्धी तथ्यांक प्रस्तुत गर्नुभयो।
उहाँका अनुसार आत्महत्या गर्नेहरूमध्ये ६३ प्रतिशत निरक्षर, १३ प्रतिशत माध्यमिक तहका विद्यार्थी र ९ प्रतिशत स्नातक तह उत्तीर्ण रहेका छन्। पेशागत अवस्थाका आधारमा आत्महत्या गर्नेहरूमध्ये कृषि क्षेत्रमा संलग्न ४६ प्रतिशत, मजदुर १७ प्रतिशत, विद्यार्थी १५ प्रतिशत र गृहणी ११.६ प्रतिशत रहेको तथ्यांक प्रस्तुत गरिएको थियो।
त्यस्तै, आत्महत्याका घटनामध्ये ६५ प्रतिशत मानसिक रोगसँग सम्बन्धित रहेको कार्यक्रममा जानकारी दिइयो। महिनागत रूपमा बैशाखमा बढी र पुसमा कम घटना हुने तथा साताका दिनमध्ये शुक्रबार र सोमबार बढी घटना देखिएको तथ्यांक प्रस्तुत गरिएको थियो।
कार्यक्रममा स्वास्थ्य सेवा विभागका निर्देशक डा. रवि शाक्य, क्लिनिकल साइकोलोजिस्ट रिचा खड्का, वरिष्ठ मनोविद् विनोद पौडेल तथा KOSHISH का कार्यकारी निर्देशक मातृका प्रसाद देवकोटाले मानसिक स्वास्थ्यका समस्या लुकाएर राख्नुभन्दा खुलेर संवाद गर्नुपर्नेमा जोड दिनुभयो। उहाँहरूले समस्या देखिएमा समयमै आवश्यक मनोसामाजिक सहायता लिनुपर्ने बताउनुभयो।
CAPS का अध्यक्ष कुशल खनालले आत्महत्या रोकथाम तथा मानसिक स्वास्थ्यसम्बन्धी सचेतना विस्तारमा विद्यार्थीको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। सचिव गौतम धितालले कार्यक्रममा प्रस्तुत तथ्यांकलाई गम्भीरतापूर्वक लिएर रोकथामका प्रयासमा सबै सरोकारवाला एकजुट हुनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रमको सहजीकरण अनुष्का कार्की र विभूषा काफ्लेले गर्नुभएको थियो भने सञ्चालन अमिरा ज्ञवाली र सोनिका पराजुलीले गर्नुभएको थियो। CAPS सदस्य मलिका गिरी तथा बन्दना जोशीको संयोजन तथा व्यवस्थापनमा सञ्चालित कार्यक्रममा त्रिविका प्राध्यापक, विद्यार्थी तथा मनोविज्ञान र मनोचिकित्सा क्षेत्रका अध्येताहरूको सहभागिता थियो।