Oct 02 2026 | २०८३, आश्विन १६ गते

कैलाली बहुमुखी क्याम्पसमा सुदूरपश्चिम नवउद्यमी सम्मेलन हुँदै

कैलाली बहुमुखी क्याम्पसमा सुदूरपश्चिम नवउद्यमी सम्मेलन हुँदै

  • 190
    SHARES

  • कैलाली बहुमुखी क्याम्पसमा सुदूरपश्चिम नवउद्यमी सम्मेलन हुँदै

    धनगढी । कैलाली बहुमुखी क्याम्पसले युवालाई उद्यमशीलतातर्फ आकर्षित गर्दै नवउद्यमको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले सुदूरपश्चिम नवउद्यमी सम्मेलन आयोजना गर्ने भएको छ। क्याम्पसअन्तर्गतको इन्क्युबेसन सेन्टरको आयोजनामा राष्ट्रिय योजना आयोग तथा सुदूरपश्चिम प्रदेश सरकारको सहयोग र विभिन्न स्थानीय तह, बैंक तथा वित्तीय संस्थाको साझेदारीमा आगामी कात्तिक १३ देखि १५ गतेसम्म सम्मेलन सञ्चालन गर्न लागिएको हो।

    कैलाली बहुमुखी क्याम्पसले आइतबार धनगढीमा पत्रकार सम्मेलन आयोजना गर्दै सम्मेलनबारे जानकारी दिएको हो। सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत सञ्चालित क्याम्पसले आफ्नै क्षेत्रमा केही गर्ने सोच भएका युवा, नवउद्यमी तथा व्यवसायिक सम्भावना भएका प्रतिभालाई प्रोत्साहन गर्ने लक्ष्यसहित सम्मेलन आयोजना गर्न लागेको जनाएको छ।

    इन्क्युबेसन सेन्टरका संयोजक सहप्राध्यापक डा. राजेन्द्रवीर चन्दले युवालाई उद्यमशीलतासँग जोड्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको बताए। व्यवसायलगायत विभिन्न क्षेत्रमा लुकेर रहेका प्रतिभालाई प्रस्फुटन गर्न सम्मेलनले सहयोग पुर्‍याउने उनको भनाइ छ।

    स्वरोजगार बन्न तथा रोजगारी सिर्जना गर्न चाहने युवालाई आवश्यक ‘मेन्टर सीप’ प्रदान गर्नुका साथै उद्यम सुरु गर्न आर्थिक सहयोगसमेत उपलब्ध गराइने सहप्राध्यापक चन्दले जानकारी दिए।

    क्याम्पसका अनुसार सम्मेलनमा ७० जनालाई विज्ञमार्फत उद्यमशीलता तथा व्यवसायसम्बन्धी प्रशिक्षण दिइनेछ। प्रशिक्षणमा सहभागीमध्ये उद्यम तथा व्यवसाय सुरु गर्न चाहनेलाई बिनाब्याज दुई लाखदेखि चार लाख रुपैयाँसम्म आर्थिक सहयोग उपलब्ध गराउने योजना रहेको छ।

    इन्क्युबेसन सेन्टरका सदस्यसमेत रहेका कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुस्करराज ओझाले स्नातक तह उत्तीर्ण गरेका, नवउद्यममा जान चाहने तथा विदेशमा सीप सिकेर स्वदेश फर्किएका युवाका लागि सम्मेलन उपयोगी मञ्च बन्ने बताए। आफ्नै क्षेत्रमा केही गर्ने सोच भएका युवालाई उद्यमशीलतामा अघि बढाउन सम्मेलनले अवसर प्रदान गर्ने उनको भनाइ छ।

    सम्मेलनमा सहभागिताका लागि छनोट गरिने ७० वटा प्रस्तावमध्ये ३५ जना विद्यार्थी र ३५ जना व्यवसायीका प्रस्ताव रहने क्याम्पस प्रमुख बिष्टले जानकारी दिए। विद्यार्थी तथा व्यवसायी दुवै समूहलाई समेटेर उद्यमशीलताको विकास गर्ने उद्देश्यले सहभागिता संरचना तयार गरिएको क्याम्पसले जनाएको छ।

    यसैगरी, सुदूरपश्चिम विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. तारादत्त भट्टले सुदूरपश्चिम नवउद्यमी सम्मेलन सफल बनाउन विश्वविद्यालयले आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे।

    कैलाली बहुमुखी क्याम्पसको इन्क्युबेसन सेन्टरको पहलमा आयोजना हुन लागेको सम्मेलनले सुदूरपश्चिमका युवामा उद्यमशील सोचको विकास, नवव्यवसायको सुरुवात तथा स्थानीयस्तरमा रोजगारी सिर्जनाका लागि सहजीकरण गर्ने अपेक्षा गरिएको छ।

    images
    सोमवार, आश्विन ५ २०८३०६:२८:३८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार