बिहिवार, माघ २० २०७८
माघ, २०/ काठमाडौ - सरकारले कोभिड - १९ संक्रमणको कारण बन्द रहेका शैक्षिक संस्था फागुनबाट खोल्ने विषयमा छलफल सुरु गरेको छ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को जिम्मेवारी पाएका राज्यमन्त्री उमेश श्रेष्ठले १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई दोस्रो मात्रा खोप लगाउनेबित्तिकै विद्यालय खोल्ने गरी तयारी भैरहेको बताएका हुन।
श्रेष्ठले सबै तहको परीक्षा सञ्चालन गर्न पनि केही दिन भौतिक रूपमा विद्यालय खोल्नुपर्ने हुन्छ । त्यसैले केही दिन कक्षा सञ्चालन गर्नकै लागि पनि विद्यालय खोल्ने तयारी भइरहेको छ । श्रेष्ठले आगामी साता सीसीएमसीसीको बैठक बसेर विद्यालय खोल्ने विषयमा निर्णय गर्ने समेत बताउनुभयो ।
राज्यमन्त्री श्रेष्ठले कोभिड–१९ संक्रमितको संख्या उच्च दरमा पुगेको अवस्थामा भने परीक्षाको प्रणाली नै परिवर्तन गर्न सकिने भन्दै त्यस बाहेकको अवस्थामा भने फागुनबाट विद्यालय खोल्ने तयारी भइरहेको बताए।
त्यसैगरी शिक्षा तथा मावनस्रोत विकास केन्द्रका महानिर्देशक चूडामणि पौडेलले माघको तेस्रो सातासम्ममा अधिकांश विद्यार्थीले दोस्रो मात्रा खोप लगाइसक्ने जानकारी दिनुभयो । उहाँले दुवै मात्रा खोप लगाइसकेपछि स्वास्थ्य मापदण्ड पूरा गरी माथिल्लो कक्षा सञ्चालन गर्ने तयारीमा रहेको बताउनुभयो ।
केन्द्रकोे तथ्यांकअनुसार माघ महिनाभित्र करिब ४० लाख विद्यार्थीले दोस्रो मात्रा खोप लगाइसक्ने बताइएको छ ।
उहाका अनिसार खोप लगाइसकेपछि फागुन र चैतको दोस्रो सातासम्ममा कक्षा सञ्चालन गरी वैशाखमा अन्तिममा परीक्षा लिने गरी तयारी भइरहेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले फागुनमा विद्यालय खोलेर चैतसम्म पढाइ गर्ने र वैशाखमा परीक्षा लिने व्यवस्था नगरे आगामी शैक्षिकसत्र पछि धकेलिन सक्ने बताउनुभयो । त्यसैले १२ देखि १७ उमेर समूहका सबै विद्यार्थीले खोप लगाएपछि फागुनबाट विद्यालय खोल्दा समस्या नहुने उहाँको तर्क थियो ।
मन्त्रालयका प्रवक्ता शर्माले सबै विद्यालयमा करिब दुई महिना कक्षा सञ्चालन गरी परीक्षा लिने विषयमा छलफल भइरहेको बताउनुभयो ।
राष्ट्रिय परीक्षा बोर्डले वैशाखमा एसईई र जेठमा कक्षा १२ को परीक्षा लिने तयारी गरेको छ ।