शुक्रवार, आश्विन १६ २०८३
काठमाडौँ, असोज १६ । त्रिभुवन विश्वविद्यालयबाट अध्ययन विदा उपभोग गरी नियमानुसार सेवा नगरेका शिक्षकको विवरणसहित अध्ययन विदा सुव्यवस्थापन कार्यान्वयन समितिले प्रतिवेदन पेश गरेको छ।
त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को २०८२ साउन २८ गतेको निर्णयअनुसार गणित केन्द्रीय विभागका उपप्राध्यापक डा. जीवन काफ्लेको संयोजकत्वमा गठित समितिले विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापासमक्ष प्रगति विवरणसहित प्रतिवेदन बुझाएको हो। समितिले अध्ययन विदा लिएर नियमानुसार सेवा नगर्ने शिक्षक तथा कर्मचारीको तत्कालीन अवस्थाको तथ्यांक संकलन गर्नुका साथै हिसाब–किताबको अभिलेख पुष्ट्याइँ गरी आवश्यक कागजात तयार गरेको जनाएको छ।
प्रतिवेदनअनुसार अध्ययन विदा उपभोग गरी नियमानुसार सेवा नगरेका ७७ जना शिक्षकबाट १६ करोड ७१ लाख २ हजार ६७ रुपैयाँ ४९ पैसा असुलउपर भइसकेको छ। त्यस्तै, थप १८ जना शिक्षकको ४ करोड ४० लाख ३३ हजार ९ सय ३९ रुपैयाँ ९१ पैसाको हिसाब–किताब तयार भइसकेको समितिले जनाएको छ।
त्रिविका रजिष्ट्रार डा. रविन्द्र शिवाकोटीलगायतको उपस्थितिमा समितिले उपकुलपति थापालाई प्रतिवेदन बुझाएको हो।
समितिको सदस्य सचिवमा कर्मचारी प्रशासन महाशाखा प्रमुख कृष्णहरि आचार्य रहेका थिए। समितिमा आर्थिक प्रशासन महाशाखाका लेखा अधिकृत सुरेश महर्जन र कर्मचारी प्रशासन महाशाखाका शाखा अधिकृत यादवप्रसाद पोखरेललगायतले जिम्मेवारी निर्वाह गरेका थिए।
समितिले अध्ययन विदा व्यवस्थापनसँग सम्बन्धित तथ्यांक, अभिलेख तथा आर्थिक दायित्वको विवरण संकलन र प्रमाणीकरण गरी प्रतिवेदन तयार गरेको जनाएको छ।
