Nov 19 2026 | २०८३, मंसिर ४ गते

जलवायु विपद्सँग जुध्न विद्यालयदेखि समुदायसम्म सचेतना फैलाउँदै सामदान (SAMDAN)

जलवायु विपद्सँग जुध्न विद्यालयदेखि समुदायसम्म सचेतना फैलाउँदै सामदान (SAMDAN)

  • 504
    SHARES

  • जलवायु विपद्सँग जुध्न विद्यालयदेखि समुदायसम्म सचेतना फैलाउँदै सामदान (SAMDAN)

    काठमाडौं । जलवायु परिवर्तन, प्राकृतिक विपद् र वातावरणीय प्रदूषणका चुनौती बढिरहेका बेला विद्यालय र बालबालिकामार्फत समुदायस्तरमै सचेतना फैलाउने अभियानमा सामाजिक चेतना तथा बहुउद्देश्यीय विकास समूह नेपाल (SAMDAN) सक्रिय देखिएको छ। संस्थाले वातावरणीय शिक्षा, फोहोरमैला व्यवस्थापन र बालबालिकाको व्यवहार परिवर्तनलाई केन्द्रमा राखेर विद्यालयदेखि समुदायसम्म आफ्नो अभियान विस्तार गरिरहेको छ।

    IMG-20261118-WA0012~2.jpg

    यही अभियानलाई थप प्रभावकारी बनाउने उद्देश्यले सामदानले मंगलबार काठमाडौंको स्वयम्भूस्थित क्वालिटी दरबार ब्यांक्वेटमा ‘Climate Disaster and the Role of Educators in Raising Awareness and Building Resilience’ विषयमा विशेष कार्यक्रम आयोजना गरेको छ।

    ‘From Awareness to Action: Empowering Schools and Children for a Safer Future’ नारासहित आयोजित कार्यक्रममा जलवायु विपद्बारे सचेतना अभिवृद्धि, विद्यालयको विपद् सामना गर्ने क्षमता विकास तथा वातावरणीय शिक्षालाई व्यवहारिक सिकाइसँग जोड्ने विषयमा छलफल गरिएको थियो।

    IMG-20261118-WA0007.jpg

    कार्यक्रममा प्रमुख वक्ताका रूपमा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNEP) अन्तर्गत सञ्चालित Urban Ecosystem-based Adaptation कार्यक्रमका राष्ट्रिय परियोजना व्यवस्थापक दुर्गाप्रसाद उपाध्यायले जलवायु विपद् र त्यसको जोखिम न्यूनीकरणमा शिक्षक तथा शिक्षाविद्को भूमिकाबारे प्रस्तुति दिएका थिए।

    त्यसैगरी नेपाल सरकारको वातावरण विभागका वरिष्ठ डिभिजनल केमिस्ट तथा प्रदूषण नियन्त्रण एवं अनुगमन महाशाखाका शाखा प्रमुख कञ्चनकुमार नायक, काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेसनका फ्याकल्टी सदस्य तथा EDIN का कार्यकारी निर्देशक हिक्मत दाहाल र नर्वेको Kristiansand Folk High School की उपप्राचार्य मोनिका क्रागहोमले प्यानलमा सहभागिता जनाएका थिए। साथै छलफलको सहजीकरण बालाराम भट्टले गरेका थिए।

    IMG-20261118-WA0011.jpg

    कार्यक्रममा जलवायु परिवर्तनका कारण बाढी, पहिरो, हिमताल विस्फोट, खडेरी तथा अनियमित वर्षाजस्ता जोखिम बढिरहेको र नेपालले त्यसको गम्भीर असर भोगिरहेको विषय उठाइएको थियो। त्यस्तै, वातावरणीय प्रदूषण र अव्यवस्थित फोहोर व्यवस्थापनलाई न्यूनीकरण गर्न विद्यालय र समुदायको सक्रियता आवश्यक रहेको औँल्याइएको थियो।

    सामदानले सन् २०१२ देखि बालबालिकामा आधारित वातावरणीय शिक्षा कार्यक्रम Children-BEEP (Children Based Environment Education Program) सञ्चालन गर्दै आएको छ। ‘Clean Environment for Better Life’ नारासहित सञ्चालित यस कार्यक्रममार्फत पछिल्ला १४–१५ वर्षमा ५० हजारभन्दा बढी बालबालिका तथा शिक्षकलाई वातावरणीय शिक्षा र सचेतना अभियानमा जोडिएको संस्थाले जनाएको छ। हाल करिब ४४ विद्यालयसँग प्रत्यक्ष रूपमा काम गरिरहेको संस्थाले विद्यार्थीलाई फोहोर वर्गीकरण, Reduce, Reuse and Recycle, कम्पोस्ट मल निर्माण, रिसाइक्लिङ तथा अपसाइक्लिङजस्ता व्यावहारिक सीप सिकाउँदै आएको छ।

    IMG-20261118-WA0003.jpg

    संस्थाको मुख्य उद्देश्य बालबालिकालाई वातावरणबारे जानकारी दिनुमा मात्र सीमित नभई उनीहरूको सोच, बानी र व्यवहारमा सकारात्मक परिवर्तन ल्याउनु हो। बालबालिकाले विद्यालयमा सिकेको वातावरणमैत्री व्यवहार परिवार र समुदायसम्म विस्तार गर्न सक्ने विश्वासका साथ सम्दानले बालबालिकालाई परिवर्तनका संवाहक बनाउने रणनीति अघि सारेको छ।

    कार्यक्रममा शिक्षक केवल पाठ पढाउने व्यक्ति नभई विद्यार्थीको सोच र व्यवहार परिवर्तन गर्ने महत्वपूर्ण माध्यम भएको उल्लेख गर्दै विद्यालयलाई जलवायु सचेतना र वातावरण संरक्षणको केन्द्र बनाउनुपर्नेमा जोड दिइएको थियो। एउटा सचेत शिक्षकले सयौँ विद्यार्थीलाई प्रभावित पार्न सक्ने र जिम्मेवार विद्यालयले समुदायमा समेत सकारात्मक परिवर्तन ल्याउन सक्ने धारणा प्रस्तुत गरिएको थियो।

    IMG-20261118-WA0004.jpg

    सामदानले आगामी दिनमा विद्यालय, शिक्षक र समुदायसँग सहकार्य गर्दै वातावरणीय शिक्षा, फोहोर व्यवस्थापन तथा विपद् उत्थानशीलताको अभियान विस्तार गर्ने लक्ष्य राखेको छ। कार्यक्रमले सचेतनालाई व्यवहारमा रूपान्तरण गर्दै सुरक्षित र स्वच्छ भविष्य निर्माणमा विद्यालयको भूमिका थप प्रभावकारी बनाउने अपेक्षा गरेको छ।

    कार्यक्रममा सामदानका बोर्ड अध्यक्ष तथा ग्रीनफिल्ड स्कुलका सञ्चालक अर्जुन पाठकले धन्यवाद ज्ञापन गरेका थिए। कार्यक्रममा विद्यालयका संस्थापक, प्रधानाध्यापक, शिक्षक, शिक्षाविद्, वातावरणविद् तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता थियो।

    images
    बुधवार, मंसिर ३ २०८३०७:०९:५७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार