Nov 19 2026 | २०८३, मंसिर ४ गते

तथ्यहीन आरोप र अपमानजनक अभिव्यक्तिप्रति प्याब्सनको आपत्ति

तथ्यहीन आरोप र अपमानजनक अभिव्यक्तिप्रति प्याब्सनको आपत्ति

  • 27
    SHARES

  • तथ्यहीन आरोप र अपमानजनक अभिव्यक्तिप्रति प्याब्सनको आपत्ति

    काठमाडौं, मंसिर ३ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले सामाजिक सञ्जालमार्फत संस्थागत विद्यालय, विद्यालय सञ्चालक तथा प्याब्सनलाई लक्षित गरी भइरहेका तथ्यहीन, अपमानजनक र मर्यादाविहीन अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ।

    प्याब्सन केन्द्रीय कार्यसमितिले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै अपुष्ट आरोप, व्यक्तिगत लाञ्छना र संस्थागत मानमर्दनलाई अभिव्यक्ति स्वतन्त्रताको आवरणमा उचित ठहर गर्न नसकिने स्पष्ट पारेको हो।

    नेपालको शिक्षा विकास, गुणस्तरीय शिक्षाको विस्तार, रोजगारी सिर्जना तथा दक्ष जनशक्ति उत्पादनमा संस्थागत विद्यालयहरूले दशकौंदेखि महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको उल्लेख गर्दै प्याब्सनले निजी क्षेत्रको लगानी र प्रतिबद्धतालाई पूर्वाग्रहपूर्ण टिप्पणीका आधारमा अवमूल्यन गर्नु न्यायोचित नहुने जनाएको छ।

    विद्यालय सञ्चालकहरू शिक्षक तथा कर्मचारीका पारिश्रमिक, सेवासुविधा, पेशागत अधिकार, सामाजिक सुरक्षा, शैक्षिक गुणस्तर र संस्थागत सुशासनका विषयमा थप जिम्मेवार, पारदर्शी र जवाफदेही हुनुपर्ने प्याब्सनले स्वीकार गरेको छ। जायज गुनासाको निष्पक्ष सम्बोधन, कानुनको पालना र आवश्यक सुधार आफ्नो साझा दायित्व भएको पनि विज्ञप्तिमा उल्लेख छ।

    तर सुधारका विषयलाई तथ्य र प्रमाणका आधारमा सम्बन्धित निकायमा उठाउनुको सट्टा सार्वजनिक अपमान र आरोप–प्रत्यारोपको माध्यम बनाउनु समस्या समाधानको जिम्मेवार बाटो नभएको प्याब्सनको भनाइ छ।

    विशेषगरी शिक्षा क्षेत्रमा सार्वजनिक प्रभाव राख्ने व्यक्तिहरूले अभिव्यक्ति दिँदा तथ्य, विवेक र व्यावसायिक मर्यादाको पालना गर्नुपर्नेमा जोड दिँदै प्याब्सनले तथ्यहीन आरोप, अपमानजनक अभिव्यक्ति तथा संस्थाको प्रतिष्ठामा आँच पुर्‍याउने गतिविधि निरन्तर भए कानुनी उपचार अवलम्बन गर्ने चेतावनी दिएको छ।

    प्याब्सनले संवाद, सुधार, सहकार्य र जिम्मेवार संस्थागत अभ्यासमा जोड दिँदै निजी विद्यालयको योगदानको सम्मान, विद्यालय सञ्चालकको जवाफदेहिता, शिक्षक तथा कर्मचारीको पेशागत न्याय र गुणस्तरीय शिक्षा एकअर्काका विरोधी नभई परिपूरक विषय भएको स्पष्ट पारेको छ।

    ‘आलोचना तथ्यमा आधारित होस्, अभिव्यक्ति मर्यादित होस् र संस्थागत सम्मान सबैका लागि समान रूपमा सुरक्षित रहोस्’ भन्दै प्याब्सनले समग्र शिक्षा क्षेत्रको गरिमा र विश्वसनीयता कायम राख्न सबै पक्षलाई आग्रह गरेको छ।

    FB_IMG_1795090230992.jpg

    images
    बिहिवार, मंसिर ४ २०८३१०:४६:४६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार