Oct 02 2026 | २०८३, आश्विन १६ गते

सीटीईभीटी र सामुदायिक विद्यालयको पाठ्यक्रम एउटै बनाइने ।

सीटीईभीटी र सामुदायिक विद्यालयको पाठ्यक्रम एउटै बनाइने ।

  • 711
    SHARES

  • सीटीईभीटी र सामुदायिक विद्यालयको पाठ्यक्रम एउटै बनाइने ।

    चैत ७, काठमाडौं -  शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयले सिटिइभिटी र सामुदायिक बिद्यालयको पाठ्यक्रम एउटै बनाउने भएको छ। मन्त्रालय अन्तर्गतका निकायबाट प्राविधिक धारमा उत्पादन हुने एउटै तहका जनशक्तिमा भिन्नता भएपछि पाठ्यक्रम समायोजनको तयारी गरिएको हो।

    एउटै संस्थामा दुईथरी पाठ्यक्रम र दुईथरी जनशक्ति उत्पादनको आलोचना हुन थालेपछि पाठ्यक्रम समायोजनको तयारी गरिएको बताइएको छ।

    हाल प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) र शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सामुदायिक विद्यालयमा प्राविधिक धारका कार्यक्रम सञ्चालन भएका छन् । सामुदायिक विद्यालयमा केन्द्रको अनुदानमा पाठ्यक्रम विकास केन्द्रले तयार गरेको प्राविधिक धारको पाठ्यक्रम कक्षा ९ देखि १२ सम्म सञ्चालन हुँदै आएको छ । तिनै सामुदायिक विद्यालयमा कक्षा १० पछि सीटीईभीटीको तीन वर्षे डिप्लोमा कार्यक्रमसमेत सञ्चालित भएका छन् ।

    त्यसैगरी शिक्षा मन्त्रालयअन्तर्गतका केन्द्र र सीटीईभीटीमार्फत विद्यालयमा पाठ्यक्रम मात्र होइन, शिक्षकको अनुदान तथा तालिमसमेत फरक रूपमा सञ्चालन भइरहेको छ ।

    शिक्षा मन्त्रालयका सहसचिव डा.हरि लम्सालले प्राविधिक धारको पाठ्यक्रम समायोजनका लागि आन्तरिक रूपमा तयारी भएको जानकारी दिए ।

    पाठ्यक्रममा समायोजन, एकीकरण र अद्यावधिकीकरणका लागि प्राविधिक प्रशिक्षक प्रशिक्षण प्रतिष्ठान (टीआईटीआई)का व्यवस्थापन बोर्डका अध्यक्ष प्रा.डा.राजेन्द्रप्रसाद अधिकारीको संयोजकत्वमा सीटीईभीटीका सदस्यसचिव, पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक र राष्ट्रिय परीक्षा बोर्डका सदस्य-सचिव सदस्य रहेको समिति बनेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलसहितको छलफलपछि समिति बनेको हो ।

    समितिले अहिले कार्यान्वयनमा रहेका सामुदायिक बिद्यालयमा सञ्चालित प्राविधिक धार कक्षा ९-१२ र प्राविधिक तथा व्यावसायिक तालिमअन्तर्गत शिक्षालय, सामुदायिक माध्यमिक विद्यालयमा सञ्चालित प्रि-डिप्लोमा तथा डिप्लोमा कार्यक्रमको पाठ्यक्रमको विस्तृत अध्ययन गरी बजारको मागसमेतलाई मध्यनजर गर्दै पाठ्यक्रम समायोजन तथा परिमार्जन गरी एकीकृत पाठ्यक्रम तयार गरी ३० दिनभित्र पेस गर्ने जिम्मा दिएको छ ।

    शिक्षा मन्त्रालयले प्राविधिक तथा व्यावसायिक शिक्षामा सबै स्थानीय तहका विद्यार्थीको सर्वसुलभ पहुँच सुनिश्चित गर्न समेत अध्ययन समिति बनाएको छ । मन्त्रालयले प्राविधिक तथा व्यावसायिक शिक्षा महाशाखा प्रमुखको संयोजकत्वमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रको  उपमहानिर्देशक र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को महाशाखा प्रमुख सदस्य रहने समिति बनाएको छ ।

     

    images
    सोमवार, चैत्र ७ २०७८०८:३४:१७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार