Aug 14 2026 | २०८३, श्रावण २९ गते

बिद्यालय शिक्षा कक्षा ४ देखि १० सम्म आईसीटी समावेस

बिद्यालय शिक्षा कक्षा ४ देखि १० सम्म आईसीटी समावेस

  • 1.4K
    SHARES

  • बिद्यालय शिक्षा कक्षा ४ देखि १० सम्म आईसीटी समावेस

    काठमाडौं । पाठ्यक्रम बिकास केन्द्रले बिद्यालय शिक्षा कक्षा ४ देखि १० सम्म सूचना तथा सञ्चार प्रविधि (आइसिटि) को पाठहरु समावेश गरेको छ। यस अन्तर्गत हरेक कक्षाको विज्ञान तथा प्रविधि विषयभित्र आइसिटो इकाई समावेश हुनेछ ।

    आधारभूत तह कक्षा ४ देखि ८ को विज्ञान तथा प्रविधि विषयको पाठ दुईभित्र उक्त एकाई राखिएको छ भने कक्षा ९ र १० मा एकाई १३ मा उक्त विषय राखिएको छ । यसअघि कक्षा ६, ७ र ८ मा कम्प्युटर शिक्षाको अध्यापन गरिन्थ्यो तर राष्ट्रिय शिक्षा प्रारुप २०७६ लागू भएसँगै उक्त विषय हटाइएको थियो ।

    पाठ्यक्रम विकास केन्द्रका पाठ्यक्रम अधिकृत युवराज अधिकारीका अनुसार विद्यालय तह कक्षा ६ देखि ८ सम्म कम्प्युटर शिक्षा हटाएकोभन्दा पनि विज्ञान तथा प्रविधिभित्र पढाउन थालिएको बताए । “हामीले प्रारुपअनुसार विज्ञान तथा प्रविधि विषयभित्र रहेको सूचना तथा सञ्चार प्रविधिबाट कम्प्युटर अध्यापन गराउने नयाँ पाठ्यक्रम विकास गरेका छौं,” उनले भने, “पहिले कक्षा ६ बाट कम्प्युटरको पढाइ हुन्थ्यो भने अहिले कक्षा ४ बाट हुन्छ ।” 

    उनका अनुसार पहिले (६-८) भएको कम्प्युटर शिक्षाको पाठ्यघण्टा प्रतिहप्ता पाँच थियो । अर्थात् प्रत्येक कक्षामा वार्षिक १७५ पिरियड अध्यापन गराउनुपर्थ्यो । तर अहिले ८ देखि १२ वर्षका विद्यार्थीले हरेक कक्षा (४-८)मा ३० घण्टा सूचना तथा सञ्चार प्रविधि पढ्नुपर्छ ।

    त्यस्तै कक्षा ९ र १० मा भएको उक्त एकाईको कार्यघण्टा १४ रहेको छ । यद्यपि कक्षा ९ देखि वैकल्पिक विषयका रूपमा विद्यार्थीले कम्प्युटर शिक्षा अध्ययन गर्नसक्ने उनले बताए ।​

    यसैबीच राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ अनुसार विद्यालय तह (१-१२) का सबै विषयको पाठ्यक्रम २०८० सम्म परिवर्तन गरिसक्ने उद्देश्य अनुरूप यस शैक्षिक सत्रदेखि कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रम लागू गरिएकाे उनले जानकारी दिए ।​

    नेपालमा वि.सं. २०७६ मा राष्ट्रिय पाठ्यक्रम प्रारुप लागू भएको थियो । त्यससँगै शैक्षिक वर्ष २०७७ मा कक्षा १ र ११, २०७८ मा कक्षा २, ३, ६ र १२ नयाँ पाठ्यक्रम लागू गरिएको थियो । त्यस्तै २०७९ सालमा कक्षा ४, ७ र ९ मा नयाँ पाठ्यक्रम लागू गरिएको थियो । 

    विद्यालय तहको आईसीटीमा निम्म विषय समावेश गरिएका छन्:

    कक्षा ४ 

    -सञ्चारका साधनहरू

    -कम्प्युटरको सामान्य परिचय

    -कम्प्युटरका भागहरू

    -कम्प्युटरको सुरक्षा र सरसफाइ

    -पेन्ट सफ्टवेर र टाइपिङ सफ्टवेयर

    -इन्टरनेट

    कक्षा ५

    -सूचनाका स्रोतहरू

    -सञ्चार तथा यसका प्रकारहरू

    -टाइपिङ सफ्टवेयर 

    -वर्ड प्रोसेसर

    -पेन्ट सफ्टवेयर 

    कक्षा ६

    -स्थानीय प्रविधि

    -आधुनिक प्रविधि

    -दैनिक जीवनमा स्मार्टफोनको प्रयोग

    -दैनिक जीवनमा कम्प्युटरको प्रयोग

    -कम्प्युटर

    -मल्टिमिडियाको प्रयोग

    कक्षा ७

    -सूचना तथा सञ्चार प्रविधिका साधनहरू

    -इन्टरनेट, इमेल र ब्राउजर

    -स्प्रेडसिट

    -फोटो इडिटिङ

    -पावर प्वाइन्ट प्रिजेन्टेसन -कम्प्युटर भाइरस

    -सफ्टवेयर

    कक्षा ८

    -सूचना तथा सञ्चार प्रविधिका साधन

    -सर्च इन्जिन, वेबसाइट, आईएसपीको परिचय

    -सोसल नेटवर्किङ साइट

    -साइबर अपराध, कम्प्युटर आचारसंहिता, साइबर कानुन र इन्टरनेट सुरक्षाको सामान्य परिचय

    -रोबोटिक्स र भर्चुअल वास्तविकताको परिचय

    -आर्टिफिसियल इन्टेलिजेन्स र क्लाउड कम्प्युटिङको परिचय र प्रयोग

    कक्षा ९

    -कृत्रिम भूउपग्रह र यसको प्रयोग

    -सूचना तथा सञ्चार प्रविधिको प्रयोग

    -दूरसञ्चार

    -मोड्युलेसन र डिमोड्युलेसन

    -आधुनिक सञ्चार प्रविधिका रूपमा इन्टरनेट

    -अनलाइन सुरक्षा उपाय

    -अनलाइन गोपनीयता जाँच

    -साइबर बुलिङ सचेतना

    -डिजिटल फुटफ्रिन्ट सचेतना

    -फायरवाल र एन्टिभाइरस सुरक्षा

    कक्षा १०

    -डिजिटल सङ्केत

    -सिग्नल प्रसारण

    -डिजिटल सञ्चार प्रणालीका अवयव

    -बेसब्यान्ड प्रसारण र ब्रोडब्यान्ड प्रसारण

    -सूचना तथा सञ्चार प्रविधिको विकासमा डिजिटल प्रविधिको प्रभाव

    -दैनिक जीवनमा प्रयोग गरिने डिजिटल प्रविधि

    -डिजटल सिटिनसिप

    -डिजिटल आरोग्यता

    -श्रव्य तथा श्रव्यदृश्य सामग्री निर्माण

     

    images
    मंगलवार, बैशाख १२ २०८००९:२५:२५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार