शुक्रवार, आश्विन २३ २०८३
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) का स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति दीपकराज जोशीले विश्वविद्यालयको अतिक्रमित जग्गा तत्काल फिर्ता लिन माग गरेका छन्।
बिहीबार बसेको त्रिवि सभाको बैठकमा बोल्दै सभापति जोशीले विश्वविद्यालयको स्वामित्वमा रहेको जग्गा अतिक्रमण भएको विषयलाई गम्भीरतापूर्वक लिएर फिर्ता ल्याउने प्रक्रिया अघि बढाउन माग गरेका हुन्।
त्रिविले अतिक्रमित जग्गा फिर्ता ल्याउने उद्देश्यले करिब ६ महिनाअघि सार्वजनिक सूचना जारी गरे पनि हालसम्म आफ्नो जग्गा फिर्ता लिन नसकेको जोशीको भनाइ छ।
उनले विश्वविद्यालयको सम्पत्ति संरक्षण गर्नु त्रिवि प्रशासनको प्राथमिक दायित्व भएको भन्दै अतिक्रमित जग्गा फिर्ताका लागि ठोस पहल गर्न सभामार्फत ध्यानाकर्षण गराएका छन्।
त्रिताल आयोगको प्रतिवेदनअनुसार त्रिभुवन विश्वविद्यालयको करिब २ हजार ५ सय रोपनी जग्गा अतिक्रमणमा परेको बताइएको छ। विश्वविद्यालयको ठूलो भू–भाग अतिक्रमणमा परेको अवस्थामा सूचना जारी गरेर मात्र नहुने भन्दै स्ववियु सभापति जोशीले जग्गा फिर्ताको प्रक्रिया प्रभावकारी रूपमा अघि बढाउनुपर्ने माग गरेका छन्।