Oct 08 2026 | २०८३, आश्विन २२ गते

त्रिविका प्रत्येक संकायको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न शिक्षामन्त्री पोखरेलको निर्देशन

त्रिविका प्रत्येक संकायको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न शिक्षामन्त्री पोखरेलको निर्देशन

  • 110
    SHARES

  • त्रिविका प्रत्येक संकायको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न शिक्षामन्त्री पोखरेलको निर्देशन

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयका सहकुलपति एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयका प्रत्येक संकायको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन दिएका छन्।

    त्रिभुवन विश्वविद्यालय सभाको ६७औँ वार्षिक दिवस बैठकलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले समयमा परीक्षा सञ्चालन नहुने र नतिजा प्रकाशनमा हुने ढिलाइ अन्त्य गर्न विश्वविद्यालयका पदाधिकारीलाई निर्देशन दिएका हुन्।

    उनले विद्यार्थी संख्या धेरै भएकै कारण परीक्षा र नतिजा प्रकाशनमा ढिलाइ हुने अवस्था अन्त्य गर्न विश्वविद्यालयको कार्यप्रणालीमा संरचनागत सुधार आवश्यक रहेको बताए। ‘त्रिभुवन विश्वविद्यालयमा समयमा परीक्षा नहुने र समयमा नतिजा नआउने गुनासो छ। हरेक संकायको नतिजा एक महिनाभित्र ल्याउनुपर्ने प्रधानमन्त्रीको निर्देशन छ। विद्यार्थी धेरै भएकाले नतिजा ल्याउन ढिलाइ भइरहेको छ। विकेन्द्रीकरणलाई लागू गर्नुपर्छ,’ मन्त्री पोखरेलले भने।

    नतिजा प्रकाशनलाई छिटो, प्रभावकारी र व्यवस्थित बनाउन अधिकार तल्लो तहसम्म हस्तान्तरण गर्दै विश्वविद्यालयमा पूर्ण रूपमा विकेन्द्रीकरणको सिद्धान्त लागू गर्नुपर्नेमा उनले जोड दिए।

    मन्त्री पोखरेलले त्रिविको शैक्षिक तथा प्रशासनिक प्रणालीमा सुधार गर्दै विदेशी विद्यार्थीलाई समेत नेपालमा अध्ययनका लागि आकर्षित गर्ने योजना बनाउन आग्रह गरे। त्रिविलाई समयसापेक्ष, प्रविधिमैत्री र अनुसन्धानमुखी विश्वविद्यालयका रूपमा विकास गर्नुपर्ने उनको भनाइ थियो।

    विश्वविद्यालयको शैक्षिक गुणस्तर, अनुसन्धान र सुशासनलाई प्राथमिकतामा राख्दै विद्यार्थीलाई प्रमाणपत्रमा मात्र सीमित नराखी ज्ञान, सीप, सिर्जनशीलता र विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने क्षमतासहित तयार पार्नुपर्ने उनले बताए।

    अनुसन्धानमा लगानी बढाउने, विश्वविद्यालय र उद्योगबीचको सहकार्य विस्तार गर्ने तथा शैक्षिक क्यालेन्डरको पूर्ण पालना गर्नुपर्नेमा पनि मन्त्री पोखरेलले जोड दिए। तोकिएको समयमा परीक्षा सञ्चालन र नतिजा प्रकाशनलाई विश्वविद्यालयको नियमित कार्यसम्पादनसँग जोड्दै सेवा प्रवाहलाई प्रविधिमैत्री र पारदर्शी बनाउन उनले निर्देशन दिए।

    त्रिविलाई अझ गुणस्तरीय, समावेशी, पारदर्शी र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी विश्वविद्यालयका रूपमा विकास गर्न सबै पक्षबीच साझा प्रतिबद्धता आवश्यक रहेको मन्त्री पोखरेलले बताए।

    images
    बिहिवार, आश्विन २२ २०८३०१:१०:४०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार