Oct 08 2026 | २०८३, आश्विन २२ गते

प्रारम्भिक बाल शिक्षादेखि कक्षा ३ सम्मलाई एउटै ‘प्रारम्भिक कक्षा’ बनाउनुपर्ने बहस

प्रारम्भिक बाल शिक्षादेखि कक्षा ३ सम्मलाई एउटै ‘प्रारम्भिक कक्षा’ बनाउनुपर्ने बहस

  • 108
    SHARES

  • प्रारम्भिक बाल शिक्षादेखि कक्षा ३ सम्मलाई एउटै ‘प्रारम्भिक कक्षा’ बनाउनुपर्ने बहस

    काठमाडौं । बालबालिकाको विकास र सिकाइको आधार निर्माण हुने प्रारम्भिक चरणलाई व्यवस्थित बनाउन प्रारम्भिक बाल शिक्षादेखि कक्षा ३ सम्मलाई एउटै निरन्तर ‘प्रारम्भिक कक्षा’ का रूपमा विकास गर्नुपर्ने अवधारणा अघि सारिएको छ।

    राष्ट्रिय पाठ्यक्रम प्रारूपसम्बन्धी जारी बहसमा प्रारम्भिक बाल शिक्षा र कक्षा १ देखि ३ सम्मको अवधिलाई बालबालिकाको विकासका दृष्टिले महत्वपूर्ण आधारभूत चरणका रूपमा हेर्नुपर्ने धारणा प्रस्तुत गरिएको हो। यस्तो व्यवस्थाले बालबालिकाको सिकाइसँगै शिक्षक व्यवस्थापन, विद्यालय सञ्चालन, स्रोत परिचालन, पाठ्यक्रम तथा मूल्याङ्कन प्रणालीमा समेत समन्वय गर्न सकिने तर्क गरिएको छ।

    प्रस्तावित ‘प्रारम्भिक कक्षा’ ले बालबालिकाको शिक्षामा थप एक वर्ष जोड्ने उद्देश्य नराखेको स्पष्ट पारिएको छ। अर्थात्, बालबालिकाले थप एक वर्ष विद्यालय जानुपर्ने वा नयाँ कक्षा थपेर सरकार तथा अभिभावकमाथि अतिरिक्त आर्थिक भार सिर्जना गर्ने अवधारणा नभएको बताइएको छ।

    यसको मुख्य उद्देश्य हालको एकवर्षे प्रारम्भिक बाल शिक्षा र कक्षा १ देखि ३ सम्मलाई बालबालिकाको विकास र सिकाइको निरन्तर चरण का रूपमा हेर्नु हो। यस अवधारणाले प्रारम्भिक बाल शिक्षा र कक्षा १ देखि ३ सम्मका शिक्षकलाई छुट्टाछुट्टै तहका जनशक्तिका रूपमा मात्र नभई आधारभूत सिकाइ सुनिश्चित गर्ने पेशागत समूहका रूपमा विकास गर्न सकिने अपेक्षा गरिएको छ। साझा पेशागत क्षमता, तालिम, स्पष्ट भूमिका र निरन्तर पेशागत विकासका अवसर निर्माण गर्न यसले सहयोग पुर्‍याउने देखिन्छ। साथै प्रारम्भिक बालविकास शिक्षकलाई शिक्षककै रूपमा पहिचान र पेशागत सम्मान दिलाउने आधारसमेत बन्न सक्ने तर्क गरिएको छ।

    कम विद्यार्थी भएका विद्यालयमा प्रारम्भिक बाल शिक्षा र कक्षा १ देखि ३ सम्मलाई छुट्टाछुट्टै ढंगले व्यवस्थापन गर्दा शिक्षक, कक्षा र सिकाइ सामग्रीको व्यवस्थापन चुनौतीपूर्ण हुने गरेको छ। ‘प्रारम्भिक कक्षा’ अवधारणाले यस्ता विद्यालयमा उपलब्ध शिक्षक तथा स्रोतलाई एकीकृत रूपमा व्यवस्थापन गर्न सहज बनाउने अपेक्षा गरिएको छ। बहुकक्षा तथा बहुस्तर शिक्षणलाई व्यवस्थित बनाउन पनि यसले आधार दिन सक्ने बताइएको छ।

    त्यस्तै, प्रारम्भिक बाल शिक्षाबाट कक्षा १ मा प्रवेश गर्दा बालबालिकाको सिकाइ शैलीमा अचानक परिवर्तन हुन नदिन संक्रमण प्रक्रियालाई पनि महत्वपूर्ण रूपमा लिइएको छ। शिक्षकबीच समन्वय, अभिभावकसँग संवाद र बालबालिकाको सिकाइसम्बन्धी जानकारीको निरन्तरता कायम गर्न ‘प्रारम्भिक कक्षा’ अवधारणाले सहयोग गर्ने अपेक्षा गरिएको छ।

    पाठ्यक्रम तथा शिक्षण विधिमा समेत प्रारम्भिक बाल शिक्षामा प्रयोग हुने खेल र अनुभवमा आधारित सिकाइलाई कक्षा १ देखि क्रमशः गतिविधिमूलक र संरचित सिकाइसँग जोड्न सकिने प्रस्ताव गरिएको छ। यसले बालबालिकालाई प्रारम्भिक चरणमै अचानक किताबी र परीक्षामुखी सिकाइतर्फ धकेलिनबाट जोगाउन सहयोग पुग्ने धारणा छ।

    मूल्याङ्कनका दृष्टिले पनि प्रारम्भिक बाल शिक्षामा गरिने अवलोकन तथा विकास अनुगमनदेखि कक्षा १ देखि ३ सम्मको निर्माणात्मक र सक्षमतामा आधारित मूल्याङ्कनलाई निरन्तर सिकाइ प्रगतिसँग जोड्न सकिने बताइएको छ।

    समग्रमा, ‘प्रारम्भिक कक्षा’ को अवधारणा नयाँ वर्ष थप्नेभन्दा बालबालिकाको सिकाइमा निरन्तरता कायम गर्ने, शिक्षक तथा स्रोत व्यवस्थापनलाई समन्वित बनाउने र प्रारम्भिक बाल शिक्षादेखि कक्षा ३ सम्मको सिकाइलाई एउटै विकासात्मक चरणका रूपमा व्यवस्थित गर्ने प्रस्तावका रूपमा अघि सारिएको छ।

    बालबालिकाको विकास निरन्तर हुने भएकाले त्यसअनुसार शिक्षा व्यवस्थापन पनि टुक्राटुक्रा नभई निरन्तर र समन्वित हुनुपर्ने यस अवधारणाको मुख्य तर्क हो।

    images
    बिहिवार, आश्विन २२ २०८३०६:५५:०७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार