Oct 08 2026 | २०८३, आश्विन २२ गते

आउनुहोस् एक पटक शिक्षकलाई गाली गरौँ

आउनुहोस् एक पटक शिक्षकलाई गाली गरौँ

  • 10
    SHARES

  • आउनुहोस् एक पटक शिक्षकलाई गाली गरौँ

    काठमाडौँ । आजका आधुनिक विद्यार्थीहरु, कक्षामा अनुशासनमा बस्न चाहदैनन्, आफ्ना गुरुले अह्राएका कुरा शिरोधार्य गर्नै खोज्दैनन् अनि अध्ययनमा चाहिने लगाव, अभिरुचि र अथक परिश्रम यी आधुनिक विद्यार्थीमा देखिनै छाड्यो ।

    कहिले एउटा बच्चो चर्पीमा चुरोट तान्दै गरेको भेटिन्छ,उसलाई पक्रेर सोधपुछ गरिन्छ। उसका अभिभावक बोलाएर यथार्थ कुरा बोलिबिस्तार लगाइन्छ। सुरुमा आफ्नो बच्चामाथि अनावश्यक शङ्का/आरोप लगाएको भनी अभिभावक आवेगमा आउन सक्छन् तर पछि आफुले पनि सत्य थाहा पाएपछि उनीहरुको जवाफ हुन्छ, "हामीले सकेनौं , हामीले भनेकै मान्दैन, हामीलाई टेर्दै टेर्दैन, यसलाई कुटपिट जे गरेर हुन्छ सुधारिदिनु पर्‍यो सर/म्याडम " भनी बिन्ती बिसाउँछन ।

    फेरि अर्को दिन पनि त्यही बच्चो चुरोट तान्दै गर्दा पक्राउ पर्छ, शिक्षकले पनि अभिभावकले गरेको अनुरोध सम्झन्छन् र उक्त विधार्थीलाई सहि बाटो ल्याउन सक्छु नि भनी गाली गर्छन्, २/४ थप्पड पनि लगाउँछन ।भोलिपल्ट त्यही बच्चोको अभिभावक दलबलसहित विद्यालय आएर हाम्रा बच्चालाई हान्ने मास्टर कुन हो, को हो त्यो? भन्दै तुरुन्त उपचार तथा क्षतिपूर्ति भराउन बवाल मच्चाइन्छ। निरीह शिक्षक खुट्टाका औंलादेखि टाउकाको रौं सम्मको उपचारका नाउँमा क्षतिपूर्ति तिर्न बाध्य हुन्छ, उस्तै पर गाउँका ठुटे नेताको रोहवरमा अबदेखि विद्यार्थीलाई पिट्ने छैन भनी कागज बनाइन्छ।

    त्यसपछि त बच्चो बिन्दास चुरोट तान्दै हिंड्छ, कपाल ठाडो पार्छ, पाईन्ट चुज हुदै जान्छ, चप्पल ठुला हुदै जान्छन, शरीरभरि टाटु हान्छ। अनि फेरी २/४ जना वि. व्य. स. का पदाधिकारी लगायत अभिभावकसमेतले भन्न थाल्छन्, "हैन, यो स्कुलका मास्टर कस्ता हुन् हँ ??? विद्यार्थीले खुलेआम चुरोट तान्या नदेख्ने, टाटु हान्या नदेख्ने, यहाँका मास्टरको केही काम छैन। स्कुल त पुरै बिग्रेको पो रहेछ! स्कुल अलि सुधार्नु पर्‍यो।"

    यसरी समय बित्दै जाँदा त्यो बच्चा घरबाट स्कुल जान्छु भनी निस्के पनि स्कुलमा पुग्दैन, जथाभावी डुल्छ, मनलाग्दी खान थाल्छ।कुनै दिन स्कुल पुगेछ भने पनि पढ्दैन, दिएका काम गर्दैन, भनेको टेर्दा पनि टेर्दैन। मोबाइल ल्याउँछ टिकटक बनाउँछ। ऊ एउटा बोरामा रहेको कुहिएको आलु सरह हुन्छ, उसको सङ्गतले अरु विद्यार्थी नि गलत बाटोमा लाग्न थाल्छन् ...... ।।

    फलस्वरूप शैक्षिक गुणस्तर दिनानुदिन खस्किँदै जान्छ। स्थानीय सरकार लगायत कथित नीति निर्माता अनि शिक्षाविद्हरुको शिक्षक लक्षित लामो आरोप पत्र जारी हुन्छ।

    त्यसपछि गुणस्तर कसरी सुधार्ने भन्ने छलफल चल्छ, केन्द्रिय स्तरमा शिक्षा सचिव, विभाग हुँदै सरोकारवालाको,र निष्कर्ष निकाल्छन् विदेश भ्रमणमा जाने र त्यहाँ शैक्षिक गुणस्तर कसरी सुधारेका रहेछन् हेर्ने ।

    विदेश घुमफिर गरि आउँछन् , भत्ता पचाउछन्, बचेकुचेको केही भए समन्वय इकाईसम्म आउछ। सम्पूर्ण विद्यालयका शिक्षकलाई पूर्ण बालमैत्री वातावरणमा शिक्षण गर्न-गराउन भनी निर्देशन जारी हुन्छ।

    त्यही निर्देशनलाई आधार मान्दै गाउँले सिंहदरवारका छोटे राजाहरुले कारबाही गर्ने धम्की दिन थाल्छन् र भोका युट्युवेहरु मोबाइलको क्यामेरा ठड्याउँछन । ठुटे नेतालाई ठुलो नेता हुने रहर जागेर आउँछ र एकदिन ऊ पनि शिक्षामन्त्री बन्न पुग्छ। उसले आफ्नो भाषणबाटै शैक्षिक सुधार हुन्छ झैं अनवरत रूपमा भाषण दिँदै जान्छ ...... ।

    शिक्षक निरीह भएर सहिरहन्छ, उसको हृदय रुन्छ, आखाभरि आएको आशु पनि लुकाउँछ! पुनः आफ्नो योजनाको एक नम्बरबाट आफ्नो काम सुरु गर्छ। आफू जलेर पनि यो बेमतलवी दुनियाँमा ज्ञानरूपी प्रकाश छर्न अनवरत लागिरहन्छ। आउनुहोस् तपाईं हामी सबै मिलेर एक पटक शिक्षकलाई गाली गरौँ र शैक्षिक गुणस्तर सुधार गर्नमा मदत पुर्‍याऔँ ।

    images
    बिहिवार, आश्विन २२ २०८३०७:०४:३१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार