बिहिवार, आश्विन २२ २०८३
काठमाडौं, २२ असोज । वीरगन्जस्थित नेशनल मेडिकल कलेजका रेजिडेन्ट डाक्टरहरूले आफूहरूले भोग्दै आएका समस्या समाधानका लागि सरकारसँग विशेष पहल गर्न आग्रह गरेका छन्। २४ दिनदेखि आन्दोलनरत उनीहरूले मंगलबार सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालय पुगेर आफ्ना गुनासा तथा माग प्रस्तुत गरेका हुन्।
मन्त्रालयमा भएको छलफलमा पहिलो वर्षमा अध्ययनरत ४० भन्दा बढी रेजिडेन्ट डाक्टरले कलेजमा अध्ययन तथा काम गर्ने क्रममा भोग्दै आएका समस्याबारे मन्त्रालयका उच्च अधिकारीलाई जानकारी गराएका थिए।
रेजिडेन्ट डाक्टरहरूले कलेज व्यवस्थापनबाट विद्यार्थीमाथि अनावश्यक दबाब तथा ‘टर्चर’ दिइएको आरोप लगाउँदै अध्ययनका लागि आवश्यक शैक्षिक वातावरण नरहेको गुनासो गरेका छन्। उनीहरूले आफूहरूलाई शान्तिपूर्ण र मर्यादित वातावरणमा अध्ययन गर्ने अवस्था सिर्जना गर्न सरकारसँग आग्रह गरेका छन्।
छलफलमा शिक्षामन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झासहित मन्त्रालयका उच्च अधिकारी सहभागी थिए। रेजिडेन्ट डाक्टरहरूले सरकारप्रति आफूहरू आशावादी रहेकाले समस्या समाधानका लागि मन्त्रालयसम्म आएको बताएका छन्। “यो सरकारसँग आशा छ, त्यही भएर यहाँसम्म आएका हौँ,” उनीहरूले भने।
रेजिडेन्ट डाक्टरहरूले अन्य निजी मेडिकल कलेजमा समेत ‘फेक फाइल’ र ‘फेक फ्याकल्टी’ रहेको दाबी गर्दै त्यसबारे छानबिन गर्न माग गरेका छन्। उनीहरूले त्यस्ता गतिविधिमा संलग्न चिकित्सक तथा सम्बन्धित व्यक्तिमाथि आवश्यक कारबाही गर्नुपर्ने बताएका छन्।
आन्दोलनरत डाक्टरहरूले आफ्ना समस्या सम्बोधन नभएसम्म तत्काल कलेज फर्किएर अध्ययन गर्ने अवस्था नरहेको बताएका छन्। समस्या समाधानका लागि ठोस पहल नभए आन्दोलनलाई निरन्तरता दिने उनीहरूको संकेत छ।

छलफलपछि शिक्षामन्त्रीका प्रमुख सल्लाहकार झाले रेजिडेन्ट डाक्टरका वास्तविक समस्या उनीहरूबाटै सुन्ने र समाधानका लागि सरकारले गर्न सक्ने पहलका विषयमा छलफल गरिएको बताउनुभयो। “यो विषयमा सरकार गम्भीर छ। शिक्षामन्त्रीज्यूले पनि गम्भीरताका साथ यसलाई हेर्नुभएको छ। तपाईं आशा लिएर जानुस्, हामी यथाशीघ्र यसलाई सम्बोधन गर्छौं,” झाले भन्नुभयो।
कलेजमा देखिएका समस्या समाधानका लागि सम्बन्धित पक्षसँग समन्वय गरी आवश्यक कदम चाल्ने विषयमा समेत छलफल भएको मन्त्रालयले जनाएको छ।
त्यस्तै, चिकित्सा शिक्षा आयोगका उपसचिव रामचन्द्र शर्माले पनि विद्यार्थीका समस्या समाधानका विषयमा आयोग गम्भीर रहेको बताउनुभयो। उहाँले समस्या समाधानका लागि आयोगका तर्फबाट आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउनुभयो।
सरकारको पहलबाट आफूहरूको समस्या समाधान हुने र कलेजमा पुनः शान्तिपूर्ण तथा मर्यादित रूपमा अध्ययन गर्ने वातावरण बन्ने अपेक्षा रेजिडेन्ट डाक्टरहरूले गरेका छन्।