बिहिवार, आश्विन २२ २०८३
काठमाडौं । विद्यालय शिक्षा नियमावली एघारौँ संशोधन प्रक्रिया अन्तिम चरणमा पुगेको छ। संशोधनको मस्यौदा लगभग तयार भइसके पनि आवश्यक अध्ययन, छलफल तथा त्रुटि सच्याउने काम बाँकी रहेकाले दसैँपछि मात्र संशोधन प्रक्रिया अघि बढाउने तयारी गरिएको छ।
शिक्षा मन्त्रालयले संशोधनलाई हतारमा अघि बढाउनुभन्दा आवश्यक गृहकार्य पूरा गरी त्रुटिरहित र परिपक्व बनाउने तयारी गरेको छ। दशअघि नै प्रक्रिया अघि बढाउन सकिने अवस्था भए पनि मस्यौदामा कुनै त्रुटि नहोस् भन्ने उद्देश्यले थप अध्ययन र छलफललाई प्राथमिकता दिइएको स्रोतको भनाई छ।
संशोधनका विषयमा मन्त्रालय सम्बन्धित निकाय तथा सरोकारवालासँग छलफलमा रहेको छ। उनीहरूका सुझाव तथा आवश्यक विषय समेटेर अन्तिम मस्यौदालाई टुंगो लगाउने तयारी गरिएको छ।
एघारौँ संशोधनमार्फत शिक्षा क्षेत्रसँग सम्बन्धित विभिन्न व्यवस्थालाई परिमार्जन तथा स्पष्ट पार्ने तयारी भइरहेको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रलगायत सम्बन्धित निकायको भूमिका र जिम्मेवारीसँग जोडिएका विषयसमेत अन्तिम मस्यौदामा समेटिने बताइएको छ।
सम्बन्धित पक्षका अनुसार संशोधनको काम अन्तिम चरणमा पुगेको भए पनि पर्याप्त अध्ययन नगरी हतारमा अघि बढाउँदा विगतका त्रुटि दोहोरिन सक्ने भएकाले दसैँपछि प्रक्रिया अघि बढाउने तयारी गरिएको हो।
मन्त्रालयले आवश्यक छलफल र गृहकार्य पूरा गरी संशोधनलाई अन्तिम रूप दिएपछि दसैँपछि औपचारिक प्रक्रिया अघि बढाउने जनाएको छ।