शुक्रवार, पौष ६ २०८०
पौष ६, २०८० धुलिखेल । नेपाल पुलिस स्कुल साँगाले आयोजना गरेको २९औं अन्तर माध्यमिक विद्यालयस्तरीय आइजीपी रनिङ ट्रफी फुटबल प्रतियोगिता २०८० को ट्रफी सैनिक आवासीय महाविद्यालयले जितेको छ। शुक्रबार भएको फाइनल खेलमा ल्याबोरेटाेरी स्कुल कीर्तिपुरलाई पराजित गर्दै सैनिक आवासीय महाविद्यालय, भक्तपुर विजयी हुँदै ट्रफी जितेको हो।

निर्धारित समयको खेल २-२ गोलको बराबरीमा सकिएपनि टाइब्रेकरमा सैनिक आवासीय महाविद्यालय भक्तपुरले ल्याबोरेटोरी स्कुललाई ३-० गोल अन्तरले पराजित गरेको थियो। प्रतियोगितामा प्रथम हुने सैनिक स्कुलले ट्रफी र ५० हजार नगद पुरस्कार प्राप्त गरेको छ । साथै ल्याबोरेटोरी स्कुलको टिम द्वितीय र नेपाल पुलिस स्कुल साँगा ‘ए’ टिम तृतीय भएका छन् । द्वितीय हुने टिमले ४० हजार र तृतीय हुने टिमले ३० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितमा सैनिक आवासीय महाविद्यालयकै अनुभव पुरीले उत्कृष्ट खेलाडीको उपाधि हात पार्न सफल भए ।
प्रतियोगिताको समापन कार्यक्रममा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले सैनिक आवासीय महाविद्यालय टीमका विजयी खेलाडीहरूलाई रनिङ्ग ट्रफी, नगद पुरस्कार पचास हजार तथा प्रमाणपत्र प्रदान गर्नुभयो । पुरस्कार वितरण गर्दै आइजीपी कुँवरले खेलकुदले विद्यार्थीहरूको प्रतिभालाई उजार गर्नुको साथै रचनात्मक तथा सिर्जनात्मक क्षमता अभिवृद्धि गर्न प्रभावकारी भूमिका निर्वाह गर्ने समेत बताउनुभयो ।