Aug 13 2026 | २०८३, श्रावण २८ गते

अर्जुनचौपारी गाउँपालिकामा ‘संस्कार शिक्षा’ पठनपाठन सुरु ।

अर्जुनचौपारी गाउँपालिकामा ‘संस्कार शिक्षा’ पठनपाठन सुरु ।

  • 416
    SHARES

  • अर्जुनचौपारी गाउँपालिकामा ‘संस्कार शिक्षा’ पठनपाठन सुरु ।

    जेठ ७, काठमाडौं । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले संस्कार संस्कृति तथा नैतिक शिक्षाको कमीका कारण युवापुस्तामा आफ्नो संस्कारसम्बन्धी ज्ञानको अभाव देखिन थालेको भन्दै पालिकाले ‘संस्कार शिक्षा’ को पठनपाठन सुरु गरेको छ।

    आफ्ना मौलिक कला, संस्कृति, चाल चलनको संरक्षण, संवर्धन र पछिल्लो पुस्तालाई संस्कारयुक्त बनाउनका लागि संस्कार शिक्षा पढाउन थालिएको हो।

    गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीका अनुसार स्थानीय पाठ्यक्रमअन्तर्गत संस्कार शिक्षा उपयुक्त लागेकाले चालु शैक्षिक सत्रको सुरुआतदेखि कक्षा ६, ७ र ८ मा पठनपाठन थालिएको उहाँले बताउनुभयो ।

    “स्थानीय पाठ्यक्रम अन्तर्गत कक्षा १-५ मा स्थानीय विषय वस्तुलाई समेटेर पाठ्यपुस्तक तयार गरी पठनपाठन गराउँदै आएका छौँ”, अध्यक्ष तिवारीले भन्नुभयो, “स्थानीय पाठ्यक्रममा समेट्नुपर्ने विषय थोरै भएको र माथिल्ला कक्षामा दोहोरिने भएकाले जीवनोपयोगी शिक्षाको खोजी गर्ने क्रममा संस्कार शिक्षा उपयुक्त लागेकाले यसलाई थालेका हौँ ।”

    डा.स्वामी केशवानन्दद्वारा लिखित संस्कार शिक्षा लागू गर्ने देशभरमै पालिकास्तरमा अर्जुनचौपारी पहिलो भएको दाबी उहाँको छ । पाठ्यपुस्तकमा नैतिक ज्ञानगुनका विषयहरुलाई कथा, कविताका माध्यमबाट प्रस्तुत गरिएको छ ।

    पछिल्लो समय आधुनिक शिक्षाको विकासक्रमसँगै संस्कारयुक्त शिक्षा, नैतिक शिक्षा पछाडि पर्दै गइरहेका छ्न्, अध्यक्ष तिवारीले भन्नुभयो, “सबैभन्दा पहिला संस्कारयुक्त व्यक्ति निर्माण गर्दै अन्ततः संस्कारयुक्त समाज निर्माण गर्न यो पाठ्यक्रमले महत्वपूर्ण भूमिका खेल्नेमा विश्वस्त छौँ ।” हाल पठनपाठनमा रहेको संस्कार शिक्षाको भाग १, २ र ३ प्रकाशन गरी कक्षा ६, ७ र ८ मा लागू गर्ने उहाँले जानकारी दिनुभयो ।

    संस्कार शिक्षाले हाम्रो रीतिरिवाज, परम्परा, चालचलन, संस्कार संस्कृतिका बारेमा पछिल्लो पुस्तालाई ज्ञान दिने भएकाले पनि संस्कार संस्कृतिको रक्षाका लागि समय सान्दर्भिक रहेको अध्यक्ष तिवारीको भनाइ छ ।

    पाठ्यपुस्तक पठनपाठन गर्ने क्रममा यसलाई अझै समयसापेक्ष परिमार्जन गर्दै विषयवस्तुलाई थप गर्दै लैजाने गरी तयारी भएको छ । अर्जुनचौपारी गाउँपालिकाका सामुदायिक र संस्थागत गरी एघार विद्यालयमा चालु शैक्षिक सत्रदेखि संस्कार शिक्षा पठनपाठनमा भइरहेको छ । गाउँपालिकाले उक्त पाठ्यपुस्तक विद्यार्थीलाई निःशुल्क उपलब्ध गराएको छ । रासस

    images
    सोमवार, जेठ ७ २०८१०९:२४:२९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार