मंगलवार, मंसिर १० २०८२
९, मंसिर । काठमाडौँको सितापाईलास्थित ज्योति एकेडमीमा कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरूले नागार्जुन नगरपालिका कार्यवाहक नगरप्रमुख शुशिला अधिकारीसँग विशेष भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सहभागिता जनाएका छन। मंगलबार विद्यार्थी र कार्यबाहक प्रमुख अधिकारी विच अन्तरक्रिया भएको हो।

कार्यक्रममा युवा तथा शिक्षा शाखाका प्रमुख कृष्ण बहादुर कुँवरले नागार्जुन नगरपालिकाको परिचय गराउँदै चालु योजना, कार्यक्रम तथा विभिन्न विकास गतिविधिबारे विस्तृत जानकारी प्रस्तुत गरे।
सोही अवसरमा कार्यवाहक नगरप्रमुख अधिकारीले विद्यार्थीहरूले राखेका जिज्ञासाको उत्तर दिनुका साथै नगरपालिकाले शिक्षा, पूर्वाधार, सञ्चार र सेवा प्रवाहका क्षेत्रमा गरिरहेको कार्यबारे आफ्ना धारणा व्यक्त गरिन्।

अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्रिन्सिपल गोबिन्द पगेनीले यस्ता कार्यक्रमले विद्यार्थीको ज्ञान, दृष्टिकोण र नागरिक चेतनाको विकासमा महत्वपूर्ण योगदान पुग्ने बताएका थिए। उहाँले नगरपालिकासँगको सहकार्य र अवसरप्रति विद्यालय परिवारको तर्फबाट धन्यवादसमेत व्यक्त गरे।
कार्यक्रममा स्थानीय पाठ्यक्रम शिक्षिका विन्दु अर्याल र शिक्षक नारायण विष्टसहित विद्यालयका अन्य प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।