आइतवार, मंसिर २२ २०८२
काठमाडौं, मंसिर २१ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) काठमाडौं जिल्ला स्तरीय अन्तर-विद्यालय बास्केटबल प्रतियोगिता भोलि बाट शुरु हुने भएको छ। बास्केटबल प्रतियोगिता काठमाडौं जिल्ला प्याब्सनको आयोजना र तारकेश्वर नगर प्याब्सनको संयोजनमा सञ्चालन हुन लागेको हो।

कार्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्याब्सन काठमाडौंका अध्यक्ष नवराज भट्ट, उपाध्यक्ष तथा इसिए/सिसिए विभाग प्रमुख धन पुन, प्याब्सन तारकेश्वरका अध्यक्ष गोपाल बुडाथोकी, सचिव झनकराज शर्मा, इसिए/सिसिए संयोजक नवराज न्यौपाने लगायतको उपस्थिति थियो।
बास्केटबल प्रतियोगितामा काठमाडौ जिल्लामा रहेका नगरहरुबाट छनोट भएका ३६ विद्यालयको सहभागिता रहने छ। साथै प्रत्येक टिमबाट सहभागिता शुल्क रु ५,००० तोकिएको छ।
प्रतियोगिताको उद्घाटन सोमबार बिहान एन्जल हर्ट सेकेन्डरी स्कुलमा हुनेछ भने समापन समारोह मंसिर २५ गते बिहीबार हिमरश्मी मा.वि. मा गर्ने तय भएको छ। प्रतियोगिता लालीगुराँस नेशनल एकेडेमी, एन्जल हर्ट सेकेन्डरी स्कुल र हिमरश्मी मा.वि. गरी तीनवटा भेन्यूमा सञ्चालन हुनेछन्। खेलहरु नक आउट चणमा खेलाइने छन्।
बास्केटबल प्रतियोगितामा बिजेता प्रथम, द्वितीय र तृतीय हुने टोलीलाई क्रमश रु ३०,००० रु, २०,००० र रु १५,०००, साथै ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने काठमाडौ जिल्ला अध्यक्ष नवराज भट्टले जानकारी दिनुभयो। प्रतियोगिता अवधिभर विद्यार्थीको स्वास्थ्य सुरक्षालाई ध्यान दिँदै मेडिकल टिमको व्यवस्था गरिएको अध्यक्ष भट्टको भनाई छ।

उक्त बास्केटबल प्रतियोगिताले विद्यार्थीको शारीरिक, मानसिक र बौद्धिक क्षमताको विकास, आत्मविश्वास, अनुशासन र नेतृत्व क्षमता अभिवृद्धि गर्न साथै सहकार्य, भाइचाराको भावना र टिमवर्क सिकाउने र प्रतिभावान खेलाडीलाई प्रदेश तथा राष्ट्रिय स्तरसम्म अघि बढ्न सहयोग पुर्याउने उदेश्य रहेको प्याब्सन तारकेश्वर अध्यक्ष गोपाल बुढाथोकीले बताउनुभयो।
प्याब्सन काठमाडौँ जिल्लाले आगामी योजना—क्रिकेट र राष्ट्रिय प्याब्सन ब्याडमिन्टन कप आयोजना गर्ने अध्यक्ष भट्टले जानकारी दिनुभयो। अध्यक्ष भट्टका अनुसार आगामी दिनमा १५ वर्ष मुनिका विद्यार्थीहरूका लागि क्रिकेट प्रतियोगिता तथा प्याब्सन कप राष्ट्रिय स्तरको ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने तयारी रहेको बताए।
