Oct 04 2026 | २०८३, आश्विन १८ गते

निर्वाचन प्रचारमा बालबालिकाको प्रयोग नगर्न आयोगको कडा निर्देशन

निर्वाचन प्रचारमा बालबालिकाको प्रयोग नगर्न आयोगको कडा निर्देशन

  • 208
    SHARES

  • निर्वाचन प्रचारमा बालबालिकाको प्रयोग नगर्न आयोगको कडा निर्देशन

    काठमाडौं। प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ लाई लक्षित गर्दै विभिन्न राजनीतिक दल तथा उम्मेदवारहरूले प्रचारप्रसारका क्रममा बालबालिकालाई प्रयोग गरेको विषयमा उजुरी परेपछि निर्वाचन आयोग ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। आयोगले निर्वाचन अभियानमा बालबालिकाको संलग्नता नगर्न सबै दल, उम्मेदवार र मतदातालाई आग्रह गरेको छ।

    आयोगका अनुसार झण्डा वा निर्वाचन चिह्न बोकाउने, जुलुस तथा सांस्कृतिक कार्यक्रममा सहभागी गराउने, दल विशेषको प्रचार सामग्री अंकित भेष्ट/टिसर्ट लगाउन लगाउने तथा विपक्षीविरुद्धका गतिविधिमा प्रयोग गर्ने जस्ता कार्यहरू भएको सम्बन्धमा गुनासा प्राप्त भएका छन्। साथै, विद्यालय समयमै विद्यालय आसपास चुनावी कार्यक्रम आयोजना गरी शैक्षिक वातावरणमा अवरोध सिर्जना गरिएको समेत उल्लेख गरिएको छ।

    नेपालको संविधानको धारा ३९ ले प्रत्येक बालबालिकालाई शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वाङ्गीण विकासको हक सुनिश्चित गरेको छ। त्यस्तै, बालबालिका सम्बन्धी ऐन, २०७५ ले बालबालिकाको सर्वोत्तम हितलाई प्राथमिकता दिन र आधारभूत तहसम्म अनिवार्य तथा निःशुल्क शिक्षा सुनिश्चित गर्न स्पष्ट व्यवस्था गरेको छ। निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ (१) (ट) मा निर्वाचन प्रचार, आमसभा र जुलुसमा बालबालिकाको प्रयोग गर्न नपाइने व्यवस्था रहेको छ। आचारसंहिता उल्लङ्घन भएमा आयोगले एक लाख रुपैयाँसम्म जरिवाना गर्न वा उम्मेदवारी रद्द गर्न सक्ने कानुनी प्रावधान रहेको आयोगले स्मरण गराएको छ।

    आयोगले कुनै पनि राजनीतिक गतिविधि सञ्चालन गर्दा बालबालिकाको अधिकार, सुरक्षा र अध्ययन-अध्यापनमा असर नपर्ने गरी कार्य गर्न निर्देशन दिएको छ। साथै, बालअधिकारको संरक्षण र संवर्द्धनका लागि नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहलाई आवश्यक पहल गर्न आग्रह गरिएको छ।

    आचारसंहिता विपरीतका गतिविधि भए/गराइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने स्पष्ट पार्दै आयोगले सबै सरोकारवालालाई जिम्मेवार र संवेदनशील बन्न अपिल गरेको छ।

    images
    मंगलवार, फाल्गुण १२ २०८२०८:५५:४०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार