मंगलवार, चैत्र ३ २०८२
काठमाडौं— शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालयले निजामती कर्मचारीका सन्ततिलाई लक्षित गर्दै शैक्षिक प्रोत्साहन वृत्ति कार्यक्रमअन्तर्गत आवेदन खुला गरेको छ। चालु आर्थिक वर्ष २०८२/८३ को स्वीकृत बजेट तथा कार्यक्रमअनुसार उक्त वृत्ति प्रदान गरिने भएको हो।
शिक्षा मन्त्रालयअन्तर्गतको कर्मचारी प्रशासन तथा सुशासन प्रवर्द्धन शाखाले जारी गरेको सूचनाअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्रका आधारमा मिति २०८२ चैत १ गतेदेखि १५ दिनको म्याद दिई आवेदन आह्वान गरिएको छ। मन्त्रालयका अनुसार विस्तृत सूचना आधिकारिक वेबसाइट mofaga.gov.np/detail/3889 मा प्रकाशित गरिएको छ भने सोही दिन गोरखापत्र दैनिकमार्फत संक्षिप्त जानकारी समेत सार्वजनिक भइसकेको छ।
यस कार्यक्रमबारे जानकारी गराउन शिक्षा तथा मानव स्रोत विकास केन्द्र, पाठ्यक्रम विकास केन्द्र, शैक्षिक गुणस्तर परीक्षण केन्द्र तथा शिक्षक सेवा आयोगलाई परिपत्र गरिएको छ। साथै, मातहतका सबै कार्यालयमा कार्यरत निजामती कर्मचारीहरूलाई समयमै जानकारी गराउन निर्देशन दिइएको छ।
त्यसैगरी, शैक्षिक प्रविधि तथा विद्युतीय सुशासन शाखालाई उक्त सूचना मन्त्रालयको वेबसाइटमा अपलोड गरी सहज पहुँच सुनिश्चित गर्न समेत भनिएको छ।
सरकारले यस कार्यक्रममार्फत निजामती कर्मचारीका सन्ततिलाई शिक्षामा थप प्रोत्साहन मिल्ने विश्वास व्यक्त गरेको छ।
