Oct 03 2026 | २०८३, आश्विन १७ गते

रोटरी पुस्तक प्रकाशनको यात्रा : प्रतिकूलताबीच सृजनशीलताको प्रेरक यात्रा

रोटरी पुस्तक प्रकाशनको यात्रा : प्रतिकूलताबीच सृजनशीलताको प्रेरक यात्रा

  • 510
    SHARES

  • रोटरी पुस्तक प्रकाशनको यात्रा : प्रतिकूलताबीच सृजनशीलताको प्रेरक यात्रा

    काठमाडौँ । पत्रकारिता र सामाजिक सेवामा सक्रिय व्यक्तित्व श्याम तण्डुकारले कठिन परिस्थितिका बीच एक महत्वपूर्ण पुस्तक प्रकाशनको तयारी अघि बढाएका छन्। स्वास्थ्य समस्या र पारिवारिक शोकका बाबजुद उनले रोटरी सम्बन्धी ऐतिहासिक अभिलेख संकलन गर्ने उद्देश्यसहित पुस्तक प्रकाशनको अभियानलाई निरन्तरता दिएका हुन्।

    तण्डुकारका अनुसार २०८२ साल असोज महिनाको अन्त्यतिर खुट्टामा देखिएको सामान्य घाउले पछि जटिल रूप लिँदा उनी लामो समयसम्म हिँडडुल गर्न असमर्थ भए। तिहारपछि करिब चार महिनासम्म घरमै बस्न बाध्य भएका उनले उपचारसँगै पुस्तक प्रकाशनको योजना बुन्दै लगे।

    रोटरी डिस्ट्रिक्ट कन्फरेन्समा वितरण गर्ने लक्ष्यसहित ‘प्रेसिडेन्ट पुस्तक’ तयार पार्ने अभियान सुरु गरिएको थियो। देशभरका रोटरी क्लबका अध्यक्षहरूलाई ह्वाट्सएपमार्फत सन्देश पठाउँदै उनीहरूको जीवनी संकलन गर्ने प्रयास गरिएको थियो। प्रारम्भमा मिश्रित प्रतिक्रिया आए पनि करिब ५० जना अध्यक्षको जीवनी संकलन भएमा पुस्तक सफल हुने सुझाव प्राप्त भएको उनले बताए।

    यसैबीच, उनकी आमाको स्वास्थ्य अवस्था बिग्रँदै गएर माघ ६ गते निधन भएपछि तण्डुकार पूर्ण रूपमा सम्पर्कविहीन बने। करिब तीन साता सामाजिक सञ्जाल र सञ्चारबाट टाढा रहेका उनी पुनः सक्रिय हुँदा कन्फरेन्स नजिकिएको र समय अभाव देखिएको थियो। तर पछि सम्मेलनको मिति सरेर वैशाख ४ देखि ६ गतेसम्म तय भएपछि उनलाई पुनः तयारीका लागि समय मिलेको हो।

    त्यसपछि उनले पुनः देशभरका अध्यक्षहरूसँग सम्पर्क गर्दै सामग्री संकलनलाई तीव्रता दिएका छन्। “कहिले चाहँदा पनि काम हुँदैन, कहिले प्रतिकूल समयमा पनि सृजना सम्भव हुन्छ भन्ने पाठ सिकें,” उनले भने। उक्त पुस्तकमा नेपालमा रोटरीको स्थापना, विकासमा यसको योगदान, हालसम्मका गभर्नरहरूको अभिलेख तथा रोटरीसँग सम्बन्धित लेखरचना समेटिने जनाइएको छ। यसले रोटरियनहरूलाई आफ्नो पहिचानप्रति गर्व गर्न प्रेरित गर्ने विश्वास गरिएको छ।

    तण्डुकार रोटरी क्लब अफ महाबौद्ध का अध्यक्ष, शिक्षा पत्रकार समाज का महासचिव तथा नेपाल पत्रकार महासंघ का उपाध्यक्ष समेत हुन्। साथै, उनी ‘शिक्षालय’ मासिक पत्रिकाका प्रकाशक तथा प्रधान सम्पादकका रूपमा पनि क्रियाशील छन्।

    प्रतिकूल परिस्थितिलाई चुनौतीका रूपमा स्वीकार्दै अघि बढेको यो प्रयासले शैक्षिक तथा सामाजिक क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ। 

    images
    मंगलवार, चैत्र २४ २०८२०९:२६:३२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार