बिहिवार, बैशाख ३ २०८३
दमौली, तनहुँ — व्यास नगरपालिकाको नगर शिक्षा समितिको बैठक नगर प्रमुख एवं समितिका अध्यक्षको संयोजकत्वमा आज (२०८३ वैशाख २ गते) सम्पन्न भएको छ। बैठकमा नगर शिक्षा समितिका सदस्यहरू, एन-प्याब्सन र प्याब्सनका प्रतिनिधिहरूका साथै विभिन्न शिक्षक संगठनका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो।
बैठकले शैक्षिक सत्र २०८३ लाई व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ। जारी विज्ञप्तिअनुसार यसअघि नै स्वीकृत वार्षिक शैक्षिक कार्यक्रमअनुसार नगरभित्रका सबै विद्यालयहरूमा भर्ना अभियान आगामी वैशाख ३ गतेदेखि सञ्चालन गरिने भएको छ।
त्यस्तै, विशेष भर्ना अभियानसहित संघीय सरकारले तोकेका कार्यक्रमहरू वैशाख १५ भित्र सम्पन्न गर्ने निर्णय गरिएको छ। सबै विद्यालयहरूमा वैशाख ७ गतेदेखि नियमित पठनपाठन सुरु गरिने पनि बैठकले जनाएको छ।
बैठकले सामुदायिक तथा संस्थागत विद्यालयहरूले वितरण गर्ने छात्रवृत्ति र लिने शुल्कसम्बन्धी विषयमा अध्ययन गर्न ५ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको छ। नगर शिक्षा अधिकारीको संयोजकत्वमा गठित उक्त समितिले १५ दिनभित्र प्रतिवेदन पेश गर्नेछ।
यसैगरी, पाठ्यक्रम विकास केन्द्र ले स्वीकृत गरेका पाठ्यपुस्तकहरू मात्र प्रयोग गर्न सबै विद्यालयलाई निर्देशन दिइएको छ। साथै, विद्यालयहरूले अध्यापन गराइने पाठ्यपुस्तकहरूको सूची सार्वजनिक गर्नुपर्ने, स्टेशनरी सामग्री विद्यालयबाट छपाई तथा बिक्री नगर्न पनि स्पष्ट निर्देशन दिइएको छ।
नगर शिक्षा समितिले यी निर्णयहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै सरोकारवालालाई सहयोग गर्न आग्रह गरेको छ।
