शनिवार, बैशाख ५ २०८३
सिन्धुपाल्चोक । त्रिपुरासुन्दरी गाउँपालिकाले शैक्षिक सत्र २०८३ का लागि वैशाख ९ गतेदेखि नियमित पठनपाठन सुरु गर्ने निर्णय गरेको छ। गाउँ शिक्षा समिति तथा शैक्षिक सरोकारवालासँगको छलफलपछि यस्तो निर्णय गरिएको हो।
गाउँपालिकाले यसअघि संघीय तहबाट सुझाइएको ढिलाइयुक्त शैक्षिक तालिकाले विद्यालय सञ्चालन अवधि छोट्याउने र विद्यार्थीको सिकाइमा असर पर्ने निष्कर्ष निकालेको जनाएको छ। सोही आधारमा स्वीकृत “त्रिपुरासुन्दरी गाउँपालिका शैक्षिक पात्रो–२०८३” अनुसार समयमै पठनपाठन सञ्चालन गर्ने निर्णय गरिएको हो।
यस निर्णयअनुसार वैशाख २ गतेदेखि विद्यार्थी भर्ना अभियान सञ्चालन गरिनेछ भने वैशाख ९ बाट कक्षा सञ्चालन गरिनेछ। साथै, शैक्षिक क्षयीकरण न्यूनीकरण गर्न आइतबार समेत नियमित रुपमा विद्यालय सञ्चालन गरिने गाउँपालिकाले स्पष्ट पारेको छ। यसअघि शिक्षा तथा मानव स्रोत विकास केन्द्र को परिपत्रअनुसार वैशाख १५ देखि भर्ना र वैशाख २१ बाट पठनपाठन सुरु गर्ने भनिएको थियो। तर स्थानीय आवश्यकता र विद्यार्थी हितलाई प्राथमिकतामा राख्दै गाउँपालिकाले आफ्नै तालिका कार्यान्वयनमा ल्याएको हो।
गाउँपालिकाले सबै सामुदायिक विद्यालय, शिक्षक, विद्यार्थी तथा अभिभावकलाई निर्णय कार्यान्वयनमा सहयोग गर्न आग्रह गरेको छ।
