Oct 02 2026 | २०८३, आश्विन १६ गते

द सनसाइन स्कुल तथा कलेजमा बृहत् स्वास्थ्य शिविर सम्पन्न

द सनसाइन स्कुल तथा कलेजमा बृहत् स्वास्थ्य शिविर सम्पन्न

  • 447
    SHARES

  • द सनसाइन स्कुल तथा कलेजमा बृहत् स्वास्थ्य शिविर सम्पन्न

    काठमाडौँ । काठमाडौँ महानगरपालिका–१५, बिजेश्वरीस्थित द सनसाइन स्कुल तथा कलेजले वैशाख १४ गते विद्यार्थी, शिक्षक, कर्मचारी तथा अभिभावक लक्षित बृहत् स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न गरेको छ।

    विद्यालय परिसरमा आयोजित शिविरमा दन्त, आँखा, सामान्य स्वास्थ्य परीक्षणका साथै स्त्रीरोग तथा बालरोग सम्बन्धी सेवा प्रदान गरिएको थियो। करिब ६०० जना विद्यार्थी, अभिभावक तथा कर्मचारीले शिविरबाट स्वास्थ्य लाभ लिएका थिए।

    IMG-20260429-WA0025~2.jpg

    उक्त कार्यक्रम Peoples Dental Hospital and Research Center को प्राविधिक सहयोगमा सम्पन्न भएको हो। शिविरमा स्त्रीरोग विशेषज्ञ, बालरोग विशेषज्ञ, आँखा विशेषज्ञ तथा दन्त चिकित्सकसहित करिब २१ जना चिकित्सक तथा नर्सहरूको टोली सहभागी रहेको विद्यालयले जनाएको छ।

    शिविरमा सहभागीहरूलाई आवश्यक सामान्य औषधि निःशुल्क वितरण गरिएको थियो भने थप उपचार आवश्यक पर्ने बिरामीका लागि ३० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको थियो।

    कार्यक्रम व्यवस्थापनमा वरिष्ठ समाजसेवी प्रकाश कुँवरलगायत विभिन्न व्यक्तित्वहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा बोल्दै समाजसेवी कुँवरले द सनसाइन स्कुल तथा कलेजले काठमाडौँ महानगरमै उत्कृष्ट शैक्षिक संस्था रूपमा सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि सहकार्य जारी रहने विश्वास व्यक्त गर्नुभयो।

    IMG-20260429-WA0014.jpg

    त्यस्तै, विद्यालयका प्रिन्सिपल बाबुराम गौतमले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै समुदायसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा सहभागी चिकित्सक, नर्स तथा सहयोगी संस्थाका प्रतिनिधिहरूलाई खादामाला र मायाको चिनो प्रदान गरिएको थियो।

    शिविरमा सहभागी सम्पूर्ण अभिभावक, विद्यार्थी तथा अतिथिहरूका लागि विद्यालय परिवारले खाजाको समेत व्यवस्था गरेको जनाएको छ।

    images
    बुधवार, बैशाख १६ २०८३०९:५३:४२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार