शुक्रवार, श्रावण १५ २०८३
काठमाडौं, साउन १५ । काठमाडौंको कालिमाटीस्थित एभरेस्ट इनोभेटिभ स्कुल (EIS) ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गरेको छ। बिहीबार विद्यालयकै सभाहलमा आयोजित कार्यक्रममा विद्यार्थीहरूको शैक्षिक उपलब्धिको कदर गर्दै सम्मान गरिएको हो।

कार्यक्रम स्कुलका प्रिन्सिपल के.बी. चित्रकारको सभापतित्व तथा एभरेस्ट इनोभेटिभ फाउन्डेसनका सिइओ हरिप्रसाद काफ्लेको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा प्रशासन प्रमुख रामप्रसाद पौडेल, EIC का प्रिन्सिपल दीपक कुमार झा, क्याम्पस चिफ किशोर काफ्ले, बोर्ड अफ डाइरेक्टर मनोज श्रेष्ठ, फाइनान्स डाइरेक्टर लक्ष्मणकृष्ण राजभण्डारी, शिक्षक तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन विद्यालयकी काउन्सिलर तथा अंग्रेजी शिक्षिका ईशा पौडेलले गर्नुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रशासन प्रमुख रामप्रसाद पौडेलले विद्यार्थीको सफलता विद्यालय, शिक्षक, अभिभावक र विद्यार्थी स्वयंको संयुक्त मेहनतको परिणाम भएको बताउनुभयो। उहाँले आगामी दिनमा पनि गुणस्तरीय शिक्षा र विद्यार्थीको सर्वाङ्गीण विकासलाई प्राथमिकतामा राखेर विद्यालय अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रमुख अतिथि हरिप्रसाद काफ्लेले सम्मानित विद्यार्थीहरूलाई बधाई दिँदै सफलतालाई निरन्तर सिकाइ र प्रगतितर्फको यात्राको सुरुआतका रूपमा लिन आग्रह गर्नुभयो। उहाँले अनुशासन, मेहनत र सकारात्मक सोचका साथ अघि बढेमा विद्यार्थीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत उत्कृष्ट उपलब्धि हासिल गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो।

सभापति के.बी. चित्रकारले विद्यालयले शैक्षिक उत्कृष्टतासँगै विद्यार्थीको व्यक्तित्व विकास, नेतृत्व क्षमता र नैतिक शिक्षामा विशेष जोड दिँदै आएको उल्लेख गर्नुभयो। उहाँले आगामी दिनमा पनि विद्यार्थीमैत्री तथा प्रविधिमैत्री शिक्षण प्रणालीलाई थप प्रभावकारी बनाइने बताउनुभयो।

कार्यक्रममा सम्मानित विद्यार्थीहरूले विभिन्न सांस्कृतिक नृत्य तथा अन्य सिर्जनात्मक प्रस्तुति प्रस्तुत गरेका थिए। सांस्कृतिक कार्यक्रमले समारोहलाई थप आकर्षक र उत्साहपूर्ण बनाएको थियो।





