Aug 12 2026 | २०८३, श्रावण २७ गते

सिटिइभिटि को पठनपाठन १५ दिनदेखि ठप्प, शिक्षक–कर्मचारी आन्दोलनले हजारौँ विद्यार्थी मारमा

सिटिइभिटि को पठनपाठन १५ दिनदेखि ठप्प, शिक्षक–कर्मचारी आन्दोलनले हजारौँ विद्यार्थी मारमा

  • 233
    SHARES

  • सिटिइभिटि को पठनपाठन १५ दिनदेखि ठप्प, शिक्षक–कर्मचारी आन्दोलनले हजारौँ विद्यार्थी मारमा

    काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) अन्तर्गतका अस्थायी तथा करार शिक्षक–कर्मचारीको आन्दोलन लम्बिँदा देशभरका प्राविधिक शिक्षालयको पठनपाठन प्रभावित भएको छ। आफ्ना माग सम्बोधनको माग गर्दै शिक्षक–कर्मचारी आन्दोलनमा उत्रिएको १५ दिन पुग्दा हजारौँ विद्यार्थीको नियमित अध्ययन प्रभावित भएको हो।

    अस्थायी तथा करार शिक्षक–कर्मचारीले सेवा, सुविधा तथा आफ्नो पेशागत हकहितसँग सम्बन्धित विभिन्न माग अघि सार्दै आन्दोलन जारी राखेका छन्। लामो समयदेखि कक्षा सञ्चालन हुन नसक्दा विद्यार्थीको नियमित सिकाइ, प्रयोगात्मक अभ्यास तथा शैक्षिक गतिविधिमा प्रत्यक्ष असर परेको बताइएको छ।

    प्राविधिक शिक्षामा कक्षाकोठाको पढाइसँगै प्रयोगात्मक अभ्याससमेत महत्वपूर्ण हुने भएकाले लामो समयसम्म पठनपाठन अवरुद्ध हुँदा विद्यार्थीको सिकाइ निरन्तरता प्रभावित हुने चिन्ता बढेको छ। विशेषगरी नियमित प्रयोगशाला अभ्यास र प्राविधिक सीपमा आधारित कक्षा छुट्दा विद्यार्थीको सिकाइ उपलब्धिमा असर पर्न सक्ने देखिएको छ।

    यसैबीच, इलामको साखेजुङस्थित नमुना CTEVTका शिक्षक तथा कर्मचारी पनि आन्दोलनमा ऐक्यबद्धता जनाउँदै आफ्ना मागका लागि काठमाडौं प्रस्थान गर्ने तयारीमा छन्। उनीहरूले सम्बन्धित निकायले आफ्ना मागलाई गम्भीरतापूर्वक लिएर तत्काल वार्ता र समाधानको पहल गर्नुपर्ने बताएका छन्।

    आन्दोलनरत शिक्षक–कर्मचारीले आफूहरू संवाद र वार्तामार्फत समस्या समाधानको पक्षमा रहेको बताउँदै सरकार तथा सम्बन्धित निकायलाई माग सम्बोधनका लागि पहल गर्न आग्रह गरेका छन्।

    तर आन्दोलन लम्बिँदै जाँदा यसको प्रत्यक्ष असर विद्यार्थीमा पर्न थालेको छ। प्राविधिक शिक्षा अध्ययन गरिरहेका विद्यार्थीको कक्षा, प्रयोगात्मक अभ्यास र शैक्षिक क्यालेन्डर प्रभावित हुन सक्ने भएकाले समस्या तत्काल समाधान गर्नुपर्ने आवश्यकता देखिएको छ। शिक्षक–कर्मचारीका जायज माग सम्बोधन गर्नुका साथै विद्यार्थीको पढाइलाई थप प्रभावित हुन नदिने गरी सरकारले तत्काल वार्ता अघि बढाउनुपर्ने सरोकारवालाको जोड छ।

    लामो समयसम्म पठनपाठन अवरुद्ध हुँदा शैक्षिक सत्र, परीक्षा तथा पाठ्यक्रम पूरा गर्ने कार्यतालिकामासमेत असर पर्न सक्ने भएकाले आन्दोलनरत पक्ष र सरकारबीच तत्काल सहमति जुटाउनुपर्ने देखिएको छ। शिक्षक–कर्मचारीको समस्या समाधानसँगै हजारौँ विद्यार्थीको रोकिएको पढाइ तत्काल सुचारु गर्नु अहिलेको मुख्य प्राथमिकता बनेको छ।

    images
    शनिवार, श्रावण २३ २०८३०७:३०:५४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार