बुधवार, श्रावण २७ २०८३
काठमाडौं । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर तथा शिक्षण–सिकाइ प्रक्रियालाई थप प्रभावकारी बनाउन काठमाडौं महानगरपालिकाको शिक्षा विभागले स्रोत शिक्षकसँग कार्यसम्पादन करार सम्झौता गरेको छ ।
‘स्रोत शिक्षक व्यवस्थापन कार्यविधि, २०८०’ तथा शिक्षा तथा स्वास्थ्य समितिको साउन २२ गतेको निर्णयका आधारमा विभागीय प्रमुख नमराज ढकाल र स्रोत शिक्षकबीच सम्झौता गरिएको हो । सम्झौता २०८४ असार मसान्तसम्म कायम रहनेछ ।
सम्झौताअनुसार स्रोत शिक्षकले आफ्नो कार्यक्षेत्रभित्रका विद्यालयको शिक्षण–सिकाइ वातावरण सुधारका लागि मासिक तथा साप्ताहिक कार्ययोजना बनाएर कार्यान्वयन गर्नुपर्नेछ । महानगरपालिकाका शैक्षिक नीति तथा कार्यक्रम विद्यालय तहमा प्रभावकारी रूपमा कार्यान्वयन गराउन सहजीकरण गर्ने, शिक्षकको पेशागत विकासमा सहयोग गर्ने तथा विद्यालयका समस्या समाधानका लागि समन्वय गर्ने जिम्मेवारीसमेत स्रोत शिक्षकलाई दिइएको छ ।
स्रोत शिक्षकले आफ्नो पदाधिकार रहेको विद्यालयमा दैनिक न्यूनतम एक घण्टी अनिवार्य रूपमा कक्षा लिनुपर्नेछ । विद्यालय समयमा इ–हाजिरीमार्फत उपस्थिति जनाउनुपर्ने व्यवस्था गरिएको छ । तालिम वा अन्य कार्यक्रममा सहभागी हुँदा कक्षा लिन नसक्ने अवस्था आएमा महानगरपालिकाले सट्टा शिक्षकको व्यवस्था गर्ने जनाएको छ ।
विभागीय प्रमुख ढकालका अनुसार स्रोत शिक्षकको कार्यसम्पादन मूल्याङ्कन करारमा उल्लेख गरिएका लक्ष्य तथा सूचकको प्रगतिका आधारमा गरिनेछ । स्रोत शिक्षकको कार्यसम्पादनमार्फत सामुदायिक विद्यालयको शिक्षण–सिकाइ सुधारसँगै समग्र शैक्षिक नतिजामा सुधार ल्याउने महानगरको लक्ष्य छ । ‘सामुदायिक शिक्षाको गुणस्तरलाई प्रतिस्पर्धी बनाउन योजनाबद्ध शिक्षण–सिकाइ र बालमैत्री वातावरण बनाउनुपर्छ,’ ढकालले भने ।
९ स्रोत केन्द्र, ९ स्रोत शिक्षक
काठमाडौं महानगरपालिकाले साविकका ११ वटा स्रोत केन्द्रलाई पुनर्संरचना गरी अहिले नौवटा स्रोत केन्द्र कायम गरेको छ । ती केन्द्रमार्फत महानगरका विभिन्न वडाका सामुदायिक तथा संस्थागत विद्यालयमा शैक्षिक सहजीकरण, समन्वय र सुधारका गतिविधि सञ्चालन हुनेछन् ।
शान्ति निकुञ्ज मावि भगवतीबारी स्रोत केन्द्रले वडा नं. ११, १५, १९, २०, २१, २२ र २३ का १५ सामुदायिक तथा ४६ संस्थागत विद्यालय हेर्नेछ । यसको स्रोत शिक्षक दिनेश केसी छन् ।
टङ्गाल मावि स्रोत केन्द्रअन्तर्गत वडा नं. २, ३, ४, ५ र ३० का आठ सामुदायिक तथा ७१ संस्थागत विद्यालय छन् । यहाँ प्रतिमा दुलाललाई जिम्मेवारी दिइएको छ । जनप्रभात मावि कालीमाटी स्रोत केन्द्रले वडा नं. १२, १३ र १४ का १० सामुदायिक तथा ४४ संस्थागत विद्यालय हेर्नेछ । यसको जिम्मेवारी कमलप्रसाद भट्टलाई दिइएको छ ।
पद्मकन्या मावि डिल्लीबजार स्रोत केन्द्रले वडा नं. १, १०, २७, २८ र २९ का ११ सामुदायिक तथा ३२ संस्थागत विद्यालय हेर्नेछ । यहाँ खगराज जोशी स्रोत शिक्षक छन् ।
कोटेश्वर सरस्वती मावि स्रोत केन्द्रले वडा नं. ३२ तथा कारागार क्षेत्रका पाँच सामुदायिक र ४६ संस्थागत विद्यालय हेर्नेछ । यसको जिम्मेवारी सुशील खनाललाई दिइएको छ ।
पशुपति मित्र मावि स्रोत केन्द्रअन्तर्गत वडा नं. ६ र ७ का आठ सामुदायिक तथा ७० संस्थागत विद्यालय छन् । यहाँ नारायण नेपाललाई स्रोत शिक्षकका रूपमा खटाइएको छ ।
गुहेश्वरी मावि सिनामङ्गल स्रोत केन्द्रले वडा नं. ८, ९ र ३१ का आठ सामुदायिक तथा ४९ संस्थागत विद्यालय हेर्नेछ । यसको जिम्मेवारी रमेशकुमार दर्जीलाई दिइएको छ ।
शान्ति शिक्षा मन्दिर मावि ठँहिटी स्रोत केन्द्रअन्तर्गत वडा नं. १७, १८, २५, २६ र २७ का १३ सामुदायिक तथा २५ संस्थागत विद्यालय छन् । यहाँ रश्मी तामाङलाई स्रोत शिक्षकको जिम्मेवारी दिइएको छ । तरुण मावि बालाजु स्रोत केन्द्रले वडा नं. १६ का छ सामुदायिक तथा ४६ संस्थागत विद्यालय हेर्नेछ । यसको स्रोत शिक्षकको जिम्मेवारी कपिलजङ्ग पाण्डेलाई दिइएको छ ।
महानगरपालिकाले स्रोत शिक्षकलाई विद्यालयको नियमित अनुगमन र सहजीकरणसँगै शिक्षकको क्षमता विकास, शिक्षण–सिकाइ सुधार तथा बालमैत्री वातावरण निर्माणमा केन्द्रित गराउने जनाएको छ । कार्यसम्पादन करारलाई विद्यालयको समग्र शैक्षिक उपलब्धिसँग जोडेर सामुदायिक शिक्षाको गुणस्तर सुधार गर्ने महानगरको लक्ष्य छ ।