मंगलवार, भाद्र १६ २०८३
काठमाडौं । नाट्यश्वरी डान्स एण्ड ड्रेस हायर सेन्टर, बसुन्धाराको आयोजनामा भएको उपत्यकाव्यापी तीज नृत्य प्रतियोगितामा काठमाडौँको बालाजु १६ स्थित नेशनल मोडल ईङ्ग्लिस सेकेन्डरी स्कुलले प्रथम स्थान हासिल गरेको छ।
प्रतियोगितामा काठमाडौं उपत्यकाका ३५ विद्यालयले सहभागिता जनाएका थिए। ती विद्यालयबीच भएको प्रतिस्पर्धामा नेशनल मोडल ईङ्ग्लिस सेकेन्डरी स्कुलले उत्कृष्ट प्रस्तुति दिँदै प्रथम स्थान हासिल गरेको हो।

विद्यालयका विद्यार्थीहरूले प्रस्तुत गरेको तीज नृत्यको निर्देशन नृत्य निर्देशक आर्यन घिमिरेले गरेका थिए। विद्यार्थीहरूको आकर्षक प्रस्तुति, नृत्यको संयोजन तथा तालमेलका आधारमा विद्यालयले उत्कृष्ट स्थान हासिल गरेको विद्यालयले जनाएको छ।
विद्यालयका प्रिन्सिपल दोर्णबहादुर अधिकारीले प्रतियोगितामा विद्यालय प्रथम हुनु विद्यार्थी, नृत्य निर्देशक तथा शिक्षकहरूको मेहनतको परिणाम भएको बताउनुभयो। उहाँले विद्यार्थीको प्रतिभा प्रस्फुटन र सांस्कृतिक पहिचानको संरक्षणका लागि यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गर्नुभयो।

प्रतियोगिताको निर्णायक मण्डलमा राष्ट्रिय नाचघर जमलकी नृत्य सचिव गीता थापा र कत्थ्य नृत्य निर्देशक केपी पौडेल लगायत रहेका थिए। प्रतियोगिता काठमाडौंको ढुंगेधारास्थित छोरोल्पा पार्टी प्यालेसमा २०८३ भदौ १५ गते आयोजना गरिएको थियो।