Oct 02 2026 | २०८३, आश्विन १६ गते

हिसानद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. ३ करोड जम्मा

हिसानद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. ३ करोड जम्मा

  • 1.2K
    SHARES

  • हिसानद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. ३ करोड जम्मा

    काठमाडौं, २६ भदौ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहत कार्यमा सहयोग पुर्‍याउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ३ करोड आर्थिक सहयोग गरेको छ।

    हिसानले शुक्रबार सिंहदरबारमा अर्थमन्त्री स्वर्णिम वाग्लेमार्फत उक्त रकम कोषमा हस्तान्तरण गरेको हो। रकम हस्तान्तरण कार्यक्रममा हिसान अध्यक्ष युवराज शर्मा, वरिष्ठ उपाध्यक्ष प्रा.डा. स्वागत श्रेष्ठ, महासचिव रामहरि सिलवाल, कोषाध्यक्ष शिव प्रसाद अधिकारी हिसान काठमाडौँ  जिल्ला अध्यक्ष गोपि पराजुली लगायत हिसानका पदाधिकारी तथा प्रतिनिधिहरूको उपस्थिति थियो।

    IMG-20260911-WA0006.jpg

    भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति हुनुका साथै विद्यार्थी, अभिभावक तथा विद्यालयसमेत प्रभावित भएका छन्। बाढी तथा पहिरोका कारण विद्यालयका भवन, शैक्षिक सामग्री तथा पूर्वाधारमा समेत क्षति पुगेको अवस्थामा प्रभावित विद्यार्थीको शैक्षिक निरन्तरता र परिवारलाई राहत पुर्‍याउन राज्यलाई सहयोग गर्ने उद्देश्यले हिसानले उक्त रकम उपलब्ध गराएको जनाएको छ।

    हिसानले राज्य दुःख र संकटमा परेका बेला निजी क्षेत्रले आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्नुपर्ने धारणा राख्दै विपद्को समयमा सरकारको राहत तथा उद्धार अभियानमा साथ दिएको हो।

    हिसानका पदाधिकारीहरूले निजी विद्यालय तथा उच्च शिक्षालयलाई केवल नाफामुखी संस्थाका रूपमा बुझ्न नहुने बताएका छन्। शिक्षा समाजसँग प्रत्यक्ष जोडिएको क्षेत्र भएकाले निजी शिक्षालयहरू सेवामुखी पनि हुन् र समाजमा आइपर्ने विपद् तथा संकटमा सहयोग गर्नु उनीहरूको सामाजिक दायित्व भएको उनीहरूको भनाइ छ।

    बाढीबाट प्रभावित विद्यार्थीको अवस्था हिसानको मुख्य चासो रहेको बताइएको छ। विपद्का कारण विद्यार्थीको पढाइ प्रभावित हुनुका साथै कतिपय परिवारको आर्थिक अवस्था कमजोर बनेको अवस्थामा राहतसँगै उनीहरूको शिक्षालाई निरन्तरता दिन राज्य, निजी क्षेत्र र शैक्षिक संस्थाबीच सहकार्य आवश्यक रहेको हिसानले जनाएको छ।

    हिसानले गरेको रु. ३ करोड सहयोगबाट भोटेकोशी बाढी प्रभावित क्षेत्रका नागरिक तथा विद्यार्थीका लागि सञ्चालन हुने खोज, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यक्रमलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    हिसानले विपद्को समयमा शिक्षा क्षेत्रको भूमिका राहत वितरणमा मात्र सीमित नभई प्रभावित विद्यार्थीको शिक्षा पुनःस्थापना, विद्यालय सञ्चालन र शैक्षिक वातावरण निर्माणसम्म केन्द्रित हुनुपर्नेमा जोड दिएको छ।

    भोटेकोशी बाढीपछि निजी तथा आवासीय विद्यालयसँग सम्बन्धित विभिन्न संघसंस्थाले राहत तथा पुनःस्थापनाका लागि सहयोग गरिरहेका छन्। यसै क्रममा हिसानको रु. ३ करोड सहयोगले राज्यको विपद् व्यवस्थापन अभियानमा निजी शिक्षा क्षेत्रको सहभागिता र सामाजिक उत्तरदायित्वको बलियो सन्देश दिएको छ।

    images
    शुक्रवार, भाद्र २६ २०८३०७:१७:५७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार