शनिवार, आश्विन १० २०८३
काठमाडौं । रसुवा, नुवाकोट र धादिङमा आएको बाढीपहिरोबाट प्रभावित बालबालिकाको शिक्षा, संरक्षण र पुनर्स्थापनाका लागि विशेष पहल सुरु गरिएको छ। बाढीपहिरोका कारण घर, विद्यालय तथा पारिवारिक सहारा गुमाएका १३० भन्दा बढी बालबालिकालाई आवासीय सुविधासहित गुणस्तरीय शिक्षा उपलब्ध गराउने अभियान अघि बढाइएको हो।
हिसान अध्यक्ष युवराज शर्मा, डा. मदन उप्रेती, डा. मधु, प्याब्सन अध्यक्ष कृष्ण अधिकारी तथा अमेरिकामा रहेका सहयोगीहरूको सहकार्यमा अघि बढाइएको पहलअन्तर्गत प्रभावित बालबालिकालाई सुरक्षित र पारिवारिक वातावरणमा आवास, शिक्षा, पौष्टिक खाना, स्वास्थ्य उपचार, सरसफाइ तथा आवश्यक संरक्षणको व्यवस्था गर्ने लक्ष्य राखिएको छ।
विपद्का कारण परिवारको माया, सुरक्षा र नियमित शिक्षाबाट वञ्चित भएका बालबालिकालाई तत्काल राहतसँगै दीर्घकालीन रूपमा शिक्षासँग जोड्ने उद्देश्य अभियानको रहेको जनाइएको छ।
अभियानमा सहकार्य गर्ने सबैप्रति प्याब्सन अध्यक्ष कृष्ण अधिकारीले आभार व्यक्त गरेका छन्। वास्तविक रूपमा बाढीपहिरोबाट प्रभावित भई यस्तो सहयोग आवश्यक भएका बालबालिकाबारे जानकारी भए अभियानसँग सम्पर्क गर्नसमेत आग्रह गरिएको छ।
‘देश पीडामा रहेका बेला पछि हट्ने होइन, एकजुट भएर सहयोग गर्ने समय हो’ भन्ने भावनासहित अभियान अघि बढाइएको आयोजक पक्षले जनाएको छ।