Nov 19 2026 | २०८३, मंसिर ४ गते

डा. केसीका अधिकांश माग पूरा भएको मन्त्रालयको दाबी, बाँकी कार्यान्वयनको चरणमा

डा. केसीका अधिकांश माग पूरा भएको मन्त्रालयको दाबी, बाँकी कार्यान्वयनको चरणमा

  • 154
    SHARES

  • डा. केसीका अधिकांश माग पूरा भएको मन्त्रालयको दाबी, बाँकी कार्यान्वयनको चरणमा

    १६ कात्तिक, काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले चिकित्सा शिक्षा सुधारका लागि डा. गोविन्द केसीले उठाएका अधिकांश माग कार्यान्वयन भइसकेको र केही माग कार्यान्वयनको प्रक्रियामा रहेको जनाएको छ।

    मन्त्रालयले डा. केसीका माग तथा सरकारसँग भएका विभिन्न सम्झौताको कार्यान्वयन अवस्थाबारे विस्तृत विवरण सार्वजनिक गर्दै चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका लागि सरकार सुरुदेखि नै प्रतिबद्ध रहेको स्पष्ट पारेको हो।

    मन्त्रालयका अनुसार गेटामा चिकित्सा शिक्षा कार्यक्रम सञ्चालन गर्दा चिकित्सा शिक्षा आयोगको अनुगमन प्रतिवेदन र स्वीकृत मापदण्डलाई आधार बनाइएको छ। सोही आधारमा एमबीबीएस तथा नर्सिङलगायतका कार्यक्रम सञ्चालन गर्न अनुमति दिइएको मन्त्रालयको भनाइ छ।

    त्यसैगरी, अनुगमन प्रतिवेदनका आधारमा स्वीकृत मापदण्डभित्र रहेर मुख्यतः सरकारी मेडिकल कलेजहरूमा सिट वृद्धि गरिएको र ३०० शय्याको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल पूर्ण क्षमतामा सञ्चालनमा ल्याइएको मन्त्रालयले जनाएको छ।

    विश्वविद्यालयसम्बन्धी ऐनमा रहेका दलीय प्रभावयुक्त तथा विवादित प्रावधान परिमार्जन गर्न 'केही नेपाल ऐन संशोधन' को प्रक्रिया अघि बढाइएको छ। सार्वजनिक तथा निजी शिक्षण संस्थामा कानुनबमोजिम छात्रवृत्ति व्यवस्था कार्यान्वयन भइरहेको र चिकित्सा शिक्षा आयोगले तोकेको मापदण्डका आधारमा मात्रै कोटा तथा सिट निर्धारण गरिएको मन्त्रालयको स्पष्टोक्ति छ।

    यसैगरी, २०८३ साउन ११ गतेलगायत हालसम्मका सत्याग्रहका क्रममा सरकारसँग भएका सम्झौताको कार्यान्वयन अवस्था विश्लेषण गर्न २०८३ साउन २७ गतेको मन्त्रीस्तरीय निर्णयबाट अध्ययन कार्यदल गठन गरिएको छ। उक्त कार्यदलको प्रतिवेदन मस्यौदा तयारी अन्तिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ।

    २०८२ भदौ २४ गते देशका विभिन्न भागमा भएका आगजनी, लुटपाट तथा तोडफोडका घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्ने प्रक्रिया सम्बन्धित निकायबाट अघि बढिरहेको पनि मन्त्रालयले उल्लेख गरेको छ।

    इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज वा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने विगतका सहमतिका विषयमा मन्त्रालयले सुर्खेत, बुटवल र बर्दिवासमा मेडिकल शिक्षा संस्था स्थापनाको काम भइरहेको र थप बजेट व्यवस्थापनको प्रक्रिया अघि बढेको जनाएको छ। सबै प्रदेश र भूगोलमा चिकित्सा शिक्षाको पहुँच विस्तार गर्न सरकार प्रतिबद्ध रहेको मन्त्रालयको भनाइ छ।

    त्यस्तै, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष तथा विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रारलगायत पदाधिकारीको नियुक्ति, योग्यता र निर्णय प्रक्रियाबारे उठेका विषयमा सरकारले आवश्यक छानबिन गर्ने जनाएको छ।

    डा. केसीले उठाएका सुधारका धेरै विषय कार्यान्वयनमा आइसकेकाले नेपालको चिकित्सा शिक्षा क्षेत्र आकर्षणको केन्द्र बनेको मन्त्रालयको ठहर छ। बाँकी विषय पनि सहकार्य र संवादमार्फत सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्दै मन्त्रालयले जारी सत्याग्रह अन्त्य गरी वार्तामा आउन डा. केसीलाई आग्रह गरेको छ।

    IMG-20261102-WA0005.jpgIMG-20261102-WA0006.jpg

    images
    मंगलवार, कार्तिक १८ २०८३०६:२४:०९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार