Nov 19 2026 | २०८३, मंसिर ४ गते

किताबको भारी, सिकाइको त्रास : कहिले हलुका हुन्छन् बालबालिकाका काँध?

किताबको भारी, सिकाइको त्रास : कहिले हलुका हुन्छन् बालबालिकाका काँध?

  • 284
    SHARES

  • किताबको भारी, सिकाइको त्रास : कहिले हलुका हुन्छन् बालबालिकाका काँध?

    विद्यार्थी डट कम । बिहानको घाम राम्ररी झुल्किन नपाउँदै सहरका सडकदेखि गाउँका गोरेटोसम्म एउटा साझा दृश्य देखिन्छ— कलिला बालबालिका आफ्नो शारीरिक क्षमताभन्दा बढी भारी झोला बोकेर विद्यालयतर्फ लागिरहेका हुन्छन्। कतिपयका काँध झोलाको भारले निहुरिएका हुन्छन् भने कतिपय बाटोमै झोला बिसाएर थकान मेटाइरहेका हुन्छन्। उनीहरू विद्यालय ज्ञान आर्जन गर्न जाँदैछन् कि भारी बोक्ने काममा निस्किएका हुन् भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्छ।

    यो केवल विद्यालय जाने बालबालिकाको दैनिक दृश्य मात्र होइन, हाम्रो शिक्षा प्रणालीले आत्मसात् गरेको सिकाइको अवधारणा र त्यसको व्यावहारिक कार्यान्वयनमाथिको गम्भीर प्रश्न पनि हो। शिक्षाले बालबालिकालाई उत्सुक, सिर्जनशील र आत्मविश्वासी बनाउनुपर्ने हो। तर, विद्यालय प्रवेश गर्नुअघि नै उनीहरूको काँधमा किताबको भारी र मनमा गृहकार्यको चिन्ता थोपर्ने प्रवृत्तिले शिक्षाको वास्तविक उद्देश्यलाई नै चुनौती दिइरहेको छ।

    बाल्यकाल खेल्ने, रमाउने, प्रश्न गर्ने, खोज्ने र नयाँ कुरा सिक्ने उमेर हो। बालबालिकाले खेल, अवलोकन, प्रयोग र अन्तरक्रियाबाट सहज रूपमा सिक्छन्। तर हाम्रो विद्यालय शिक्षाको अभ्यास अझै पनि धेरै किताब, धेरै गृहकार्य र धेरै लेखाइलाई गुणस्तरीय शिक्षाको मापदण्ड ठान्ने सोचबाट मुक्त हुन सकेको छैन। फलतः विद्यालय बालबालिकाका लागि उत्साह र जिज्ञासाको केन्द्र बन्नुपर्नेमा कतिपय अवस्थामा बोझ र दबाबको थलो बनिरहेको छ।

    गह्रौँ विद्यालय झोलाको असरलाई केवल शारीरिक असहजताका रूपमा मात्र हेर्न मिल्दैन। उमेर र शारीरिक क्षमताभन्दा बढी तौल बोकेर नियमित विद्यालय आउजाउ गर्दा बालबालिकामा काँध, ढाड तथा मांसपेशीसम्बन्धी समस्या उत्पन्न हुन सक्छन्। शारीरिक थकानले उनीहरूको कक्षाकोठाको एकाग्रता र सिकाइमा समेत असर पार्न सक्छ। त्यसमाथि विद्यालयबाट फर्किएपछि गृहकार्यको अर्को भारी थपिन्छ। यसरी बालबालिकाको खेल्ने, सिर्जना गर्ने, परिवारसँग समय बिताउने र आफ्नै रुचिअनुसार सिक्ने अवसर साँघुरिँदै गएको छ।

    विडम्बना के छ भने, बालबालिकाको सिकाइ सहज बनाउन सरकारले विभिन्न नीति तथा कार्यक्रम अघि सारेको छ। आधारभूत तहका प्रारम्भिक कक्षामा एकीकृत पाठ्यक्रम लागू गर्नुको उद्देश्य नै विषयगत सिकाइलाई सहज, व्यवहारिक र बालमैत्री बनाउनु हो। विद्यालय झोलाको तौललाई सीमाभित्र राख्ने विषय पनि नीतिगत रूपमा उठाइएको छ। तर नीति निर्माण र त्यसको कार्यान्वयनबीचको दूरी अझै घट्न सकेको छैन। सरकारी निर्देशन कागजमा सीमित हुने र विद्यालयको अभ्यास पुरानै ढर्रामा चलिरहने हो भने सुधारको अपेक्षा गर्नु व्यर्थ हुन्छ।

    विशेषगरी केही निजी विद्यालयमा देखिएको अस्वस्थ प्रतिस्पर्धाले यो समस्या थप जटिल बनाएको छ। धेरै पुस्तक, धेरै कापी, अतिरिक्त अभ्यास पुस्तिका र विभिन्न सन्दर्भ सामग्री प्रयोग गराउनु नै गुणस्तरीय शिक्षाको प्रमाण हो भन्ने गलत भाष्य स्थापित हुँदै गएको छ। अभिभावकलाई आकर्षित गर्न विद्यालयहरूले पाठ्यसामग्रीको संख्या र गृहकार्यको परिमाणलाई आफ्नो शैक्षिक स्तर प्रदर्शन गर्ने माध्यम बनाउनु उचित होइन। शिक्षाको गुणस्तर किताबको थुप्रोले होइन, बालबालिकाले हासिल गरेको ज्ञान, सीप, व्यवहार र क्षमताले निर्धारण गर्छ।

    समस्याको अर्को पाटो हाम्रो मूल्याङ्कन प्रणाली र अभिभावकको सोचसँग पनि जोडिएको छ। पाठ्यक्रमले प्रयोगात्मक, सहभागितामूलक र जीवनोपयोगी सिकाइलाई प्राथमिकता दिए पनि व्यवहारमा घोकाइ, लेखाइ र परीक्षामुखी शिक्षण विधि हाबी छ। शिक्षकहरू बालबालिकामा सीप र क्षमता विकास गराउनुभन्दा पाठ्यक्रम सक्ने र निर्धारित समयभित्र परीक्षा लिने दबाबमा छन्। अर्कोतर्फ, कतिपय अभिभावकले पनि बच्चाले के बुझ्यो र के सिक्यो भन्नेभन्दा कति गृहकार्य गर्‍यो, कति कापी भर्‍यो र कति पुस्तक पढ्यो भन्ने आधारमा विद्यालयको गुणस्तर मापन गरिरहेका छन्। यही सोचले बालबालिकाको सिकाइलाई स्वाभाविक प्रक्रियाभन्दा बढी बोझिलो बनाइरहेको छ।

    अब प्रश्न उठ्छ— बालबालिकाको काँधबाट किताबको भारी हटाउने जिम्मेवारी कसको हो? यसको जवाफ कुनै एक पक्षमा सीमित छैन। विद्यालय, सरकार, शिक्षक, अभिभावक र पाठ्यक्रम कार्यान्वयनमा संलग्न सबै सरोकारवालाले आ–आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्छ।

    विद्यालयहरूले दैनिक पठनपाठनको कार्यतालिकाअनुसार आवश्यक पुस्तक तथा सामग्री मात्र ल्याउने व्यवस्था गर्नुपर्छ। विद्यालयमै लकर वा दराजको व्यवस्था गरी दैनिक आवश्यक नपर्ने पुस्तक घर लैजानुपर्ने बाध्यता हटाउन सकिन्छ। अनावश्यक गृहकार्य र अभ्यास पुस्तिकाको प्रयोग घटाउँदै कक्षाकोठाभित्रै छलफल, परियोजना, प्रयोग र सिर्जनात्मक गतिविधिमार्फत सिकाइलाई प्रभावकारी बनाउन सकिन्छ।

    त्यस्तै, स्थानीय तह र शिक्षा प्रशासनले विद्यालय झोलाको तौलसम्बन्धी मापदण्ड कार्यान्वयन भए–नभएको नियमित अनुगमन गर्नुपर्छ। निर्देशन जारी गरेर मात्र सरकारको दायित्व पूरा हुँदैन। नियम पालना नगर्ने विद्यालयलाई सचेत गराउने र आवश्यकताअनुसार कारबाही गर्ने प्रभावकारी संयन्त्र पनि चाहिन्छ। विद्यालयको शैक्षिक गुणस्तर अनुगमन गर्दा पाठ्यपुस्तकको प्रयोग, गृहकार्यको अभ्यास र बालमैत्री सिकाइ वातावरणलाई समेत प्राथमिकतामा राख्नुपर्छ।

    अभिभावकले पनि आफ्नो बालबालिकाले धेरै किताब बोकेको वा धेरै गृहकार्य गरेकोमा गर्व गर्ने होइन, उनीहरूले कति सहज, खुसी र व्यवहारिक ढंगले सिकिरहेका छन् भन्ने विषयमा चासो राख्नुपर्छ। विद्यालयको गुणस्तर मूल्याङ्कन गर्ने आधार किताब र कापीको संख्या होइन, बालबालिकाको सिकाइ उपलब्धि र व्यक्तित्व विकास हुनुपर्छ।

    शिक्षा भनेको बालबालिकाको मस्तिष्कमा सूचना थुपार्ने प्रक्रिया होइन। उनीहरूभित्र रहेको जिज्ञासा, प्रतिभा, कल्पनाशीलता र सिर्जनशीलतालाई उजागर गर्ने माध्यम हो। त्यसैले विद्यालयलाई किताबको भारी बोकाउने केन्द्र होइन, ज्ञान, सीप, संस्कार र सम्भावनाको विकास गर्ने थलो बनाउन आवश्यक छ।

    आजको आवश्यकता बालबालिकाको काँधमा थप किताब थप्नु होइन, उनीहरूको सिकाइलाई थप सहज र अर्थपूर्ण बनाउनु हो। पाठ्यक्रम बालमैत्री बनाउने, शिक्षण विधि व्यवहारिक बनाउने र मूल्याङ्कन प्रणाली सुधार्ने बहससँगै विद्यालय झोलाको भार घटाउने विषयलाई पनि शिक्षा सुधारको प्राथमिक एजेन्डा बनाउनुपर्छ।

    अन्ततः, बालबालिकाको काँध हलुका हुनु भनेको शिक्षाको गुणस्तर घट्नु होइन, शिक्षालाई बालमैत्री र प्रभावकारी बनाउनु हो। कलिला काँधमा किताबको भारी होइन, सिकाइका पखेटा हालिदिने शिक्षा प्रणाली निर्माण गर्न अब ढिलाइ गर्नु हुँदैन।

    images
    आइतवार, कार्तिक ३० २०८३०९:१५:२१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार