Nov 19 2026 | २०८३, मंसिर ४ गते

शिक्षा मन्त्रालयको पहलमा जुट्यो सहमति, अध्ययन जारी राख्नेलाई वातावरण र अन्यत्र जानेलाई रकम फिर्ता गर्ने प्रतिबद्धता

नेशनल मेडिकल कलेजका आन्दोलनरत रेजिडेन्ट डाक्टर अध्ययनमा फर्किने, व्यवस्थापनसँग सहमति

नेशनल मेडिकल कलेजका आन्दोलनरत रेजिडेन्ट डाक्टर अध्ययनमा फर्किने, व्यवस्थापनसँग सहमति

  • 217
    SHARES

  • नेशनल मेडिकल कलेजका आन्दोलनरत रेजिडेन्ट डाक्टर अध्ययनमा फर्किने, व्यवस्थापनसँग सहमति

    काठमाडौं, १ मंसिर । वीरगन्जस्थित नेशनल मेडिकल कलेजका आन्दोलनरत रेजिडेन्ट डाक्टरहरू अध्ययन तथा काममा फर्किन सहमत भएका छन्। शिक्षा तथा खेलकुद मन्त्रालयको समन्वयमा कलेज व्यवस्थापन र विद्यार्थी प्रतिनिधिबीच भएको छलफलपछि दुवै पक्षबीच समझदारी जुटेको हो।

    मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा भएको छलफलमा कलेज व्यवस्थापनले विद्यार्थीका माग सम्बोधन गर्दै शैक्षिक वातावरण सुधार गर्ने प्रतिबद्धता जनाएपछि रेजिडेन्ट डाक्टरहरू आन्दोलन स्थगित गरी अध्ययनमा फर्किन सहमत भएका हुन्। सहमतिअनुसार कलेजमै अध्ययनलाई निरन्तरता दिन चाहने विद्यार्थीका लागि आवश्यक शैक्षिक वातावरण सुनिश्चित गरिनेछ भने अन्यत्र जान चाहने विद्यार्थीलाई नियमानुसार रेजिडेन्टबापतको रकम फिर्ता गरिनेछ। आवश्यकताअनुसार अहिले भएको समझदारीलाई पछि लिखित सम्झौतामार्फत औपचारिकता दिने सहमति पनि भएको छ।

    छलफलमा शिक्षामन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झा, मन्त्रालयका उच्च अधिकारी, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा देवेन्द्रबहादुर खत्री, त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) का डीन प्राडा मोहनराज शर्मा, कलेजका अध्यक्ष प्राडा जैनउद्दीन अन्सारी तथा विद्यार्थी प्रतिनिधिहरू सहभागी थिए।

    पहिलो वर्षमा अध्ययनरत रेजिडेन्ट डाक्टरहरूले कलेज व्यवस्थापनबाट अनावश्यक मानसिक दबाब तथा दुर्व्यवहार भएको र अध्ययनका लागि आवश्यक वातावरण नरहेको आरोप लगाउँदै आन्दोलन गर्दै आएका थिए। उनीहरूले आफूहरूले भोग्नुपरेका समस्या मन्त्रालयसमक्ष राख्दै शान्तिपूर्ण र मर्यादित शैक्षिक वातावरणको माग गरेका थिए।

    छलफलपछि रेजिडेन्ट डाक्टरहरूले आफूहरू आशावादी रहेको जनाउँदै अध्ययन तथा काममा फर्किने प्रतिबद्धता व्यक्त गरेका छन्।

    शिक्षामन्त्रीका प्रमुख सल्लाहकार झाले रेजिडेन्ट डाक्टरहरूको समस्यालाई मन्त्रालयले गम्भीरतापूर्वक लिएको बताउँदै सरोकारवालाबीचको छलफलबाट समाधानको बाटो पहिचान भएको बताए। उनले विगतका कमीकमजोरी सुधार्दै शैक्षिक वातावरण निर्माण गर्न कलेज व्यवस्थापन र विद्यार्थी दुवै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिए।

    चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा खत्रीले छलफलबाट दुवै पक्षबीच समझदारी विकास भएको उल्लेख गर्दै विद्यार्थीलाई अध्ययनमा फर्किन र कलेज व्यवस्थापनलाई प्रतिबद्धता कार्यान्वयन गर्न आग्रह गरे। त्यस्तै, आईओएमका डीन प्राडा शर्माले भएको समझदारी कार्यान्वयन भए/नभएको विषयमा मन्त्रालय, चिकित्सा शिक्षा आयोग र आईओएमले चरणबद्ध अनुगमन गर्ने जानकारी दिए।

    IMG-20261117-WA0006.jpg

    कलेजका अध्यक्ष प्राडा अन्सारीले विद्यार्थीको चाहना र मागअनुसार कलेजको शैक्षिक वातावरण सुधार गर्न व्यवस्थापन तयार रहेको प्रतिबद्धता जनाए।

    images
    मंगलवार, मंसिर २ २०८३०८:४६:५५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार