शनिवार, मंसिर ६ २०८३
धनगढी, ५ मङ्सिर । सुदूरपश्चिम प्रदेश सरकारले एमबीबीएस अध्ययनका लागि ९ जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयले शैक्षिक सत्र २०८३/८४ का लागि खुला तथा समावेशी कोटामा छात्रवृत्ति प्रदान गर्न आवेदन आह्वान गरेको हो।
चिकित्सा शिक्षा आयोगद्वारा सञ्चालित एमबीबीएस प्रवेश परीक्षा उत्तीर्ण गरी सुदूरपश्चिम प्रदेशमा स्थायी बसोबास भएका विद्यार्थीले छात्रवृत्तिका लागि आवेदन दिन सक्नेछन्। मन्त्रालयले सार्वजनिक गरेको सूचनाअनुसार कुल ९ सिटमध्ये खुलातर्फ ५ र समावेशीतर्फ ४ सिट छुट्याइएको छ। समावेशी कोटामा महिलाका लागि एक, आर्थिक रूपले विपन्न खस आर्यका लागि एक, आदिवासी जनजातिका लागि एक र पिछडिएको क्षेत्रका लागि एक सिट निर्धारण गरिएको छ।
छात्रवृत्तिमा छनोट भएका विद्यार्थीलाई नेपाल सरकार चिकित्सा शिक्षा आयोगले एमबीबीएस अध्ययनका लागि निर्धारण गरेको कुल शिक्षण शुल्कबराबरको रकम किस्ताबन्दीमा उपलब्ध गराइने मन्त्रालयले जनाएको छ। छात्रवृत्तिका लागि विद्यार्थी छनोट गर्दा एकीकृत छात्रवृत्ति व्यवस्थापन निर्देशिका, २०७६ (छैटौँ संशोधनसहित) को अनुसूची–२ बमोजिमको आधार अपनाइनेछ। मूल्याङ्कनबाट प्राप्ताङ्क बराबर भएमा चिकित्सा शिक्षा आयोगले लिएको प्रवेश परीक्षाको प्राप्ताङ्कलाई आधार मानिनेछ। त्यसमा पनि बराबर भए कक्षा १२ र सोसमेत बराबर भए कक्षा १० को अन्तिम परीक्षाको प्राप्ताङ्क वा GPA का आधारमा योग्यताक्रम निर्धारण गरिनेछ।
आवेदन दिन इच्छुक विद्यार्थीले नेपाली नागरिकताको प्रमाणपत्र, कक्षा ८, १० र १२ का मार्कसिट, ग्रेडसिट, ट्रान्सक्रिप्ट तथा चारित्रिक प्रमाणपत्रको प्रतिलिपि पेस गर्नुपर्नेछ। साथै, अध्ययन गरेको विद्यालय सामुदायिक वा संस्थागत कुन प्रकृतिको हो भन्ने खुल्ने सम्बन्धित स्थानीय तहको शिक्षा, युवा तथा खेलकुद महाशाखा वा शाखाको सक्कल पत्र पनि आवश्यक पर्नेछ।
त्यसैगरी, एमबीबीएस प्रवेश परीक्षाको स्कोर र र्याङ्क खुल्ने प्रमाण, स्थायी बसोबास खुल्ने वडा कार्यालयको सिफारिस तथा नेपाल सरकार वा अन्य निकायबाट छात्रवृत्ति प्राप्त नगरेको स्वघोषणासमेत पेस गर्नुपर्नेछ। समावेशी कोटामा आवेदन दिनेले सम्बन्धित समूह खुल्ने आवश्यक प्रमाणपत्र पनि संलग्न गर्नुपर्नेछ।
मन्त्रालयका अनुसार आवेदन फाराम तथा आवश्यक कागजात सामाजिक विकास मन्त्रालयको उच्च शिक्षा शाखा, कोठा नम्बर २२, धनगढी, कैलालीमा पेस गर्नुपर्नेछ। आवेदन २०८३ मङ्सिर ४ गतेदेखि मङ्सिर १८ गतेसम्म कार्यालय समयभित्र बुझाउन सकिनेछ।
खुला तथा समावेशी दुवै समूहमा आवेदन दिने विद्यार्थीले आफूले चाहेको छात्रवृत्तिको नाम निवेदनमा स्पष्ट खुलाउनुपर्नेछ। चिकित्सा शिक्षा आयोगबाट छात्रवृत्ति कोटामा सिफारिस भएका विद्यार्थीको प्रदेश सरकारको छात्रवृत्तिका लागि परेको आवेदन स्वतः रद्द हुनेछ।
छात्रवृत्तिसम्बन्धी थप जानकारी मन्त्रालयको वेबसाइटमा उपलब्ध एकीकृत छात्रवृत्ति व्यवस्थापन निर्देशिका, २०७६ बाट प्राप्त गर्न सकिने मन्त्रालयले जनाएको छ। थप जानकारीका लागि mosd.sudurpashchim.gov.np हेर्न सकिनेछ।


