बिहिवार, भाद्र ३१ २०७८
सुनसरी - इनरुवा नगरपालिकाभित्र कार्यरत इसीडी शिक्षक र विद्यालय कर्मचारीले आफ्नो तलब वृद्धि नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
नगरपालिकाका शिक्षक र कर्मचारीले आइतबार बेलुकीसम्म नगरपालिकाको निर्णय पर्खने र माग सम्बोधन नभए आन्दोलन सुरु गर्ने भएका हुन् ।
गत जेठ १५ गते सरकारले घोषणा गरेको इसीडी शिक्षक र विद्यालय कर्मचारीको तलव सम्बन्धि व्यवस्था स्थानीय तहले वेवास्ता गरेको भन्दै असारको तेस्रो सातादेखि आन्दोलन गर्दै आएका छन् ।
स्थानीय तहको कार्यपालिकाले इसीडी शिक्षक र विद्यालय कर्मचारीको तलब वृद्धि गर्न सर्वदलीय निर्णय चाहिने, स्रोत नभएको लगायतका बहाना बनाएर हलो अड्काएको बालमन्दिर माध्यामिक विद्यालय, इनरुवा(२ की इसीडी शिक्षक सोनु मगरले बताइन् ।
जेठ १५ गते संघीय सरकारले मासिक ८ हजार र स्थानीय सरकारबाट ७ हजार थप गरी १५ हजार दिने घोषणा गरेको भएपनि बर्सौंदेखि श्रम शोषण गर्दै आएका शिक्षक कर्मचारीलाई अहिले आएर नगरपालिकाले पनि शोषण गरेको आन्दोलनरत शिक्षक कर्मचारीको आरोप छ ।
सरकारले घोषणा गरेको तलव पाउनु पर्ने माग गर्दै गत असार २४ गते इसीडी शिक्षक र विद्यालय कर्मचारीले नगरप्रमुखलाई मागपत्र बुझाएका थिए । तर ‘नगरपालिकाको आन्तरिक स्रोत नभएका कारण सजिलै निर्णय गर्न नसकिएको नगर उपप्रमुख जमुनादेवी गौतमले बताइन् ।
त्यसैगरी नगर प्रमुख राजन मेहताले इसीडी शिक्षक र विद्यालय कर्मचारीको तलब थपका विषयमा छलफलका लागि आन्दोलनरत पक्षसँग तीन दिनको समय माग गरेको बताए ।
यता आन्दोनरत पक्षबाट संयोजक मगरले ‘आइतबार पाँच बजेसम्म हाम्रो माग लागु नगरेमा सोमबार धर्ना तथा तालाबन्दीसम्म गर्ने योजना छ,’उनले भनिन् ।