आइतवार, आश्विन ३ २०७८
काठमाडौ - असोज ४ गतेदेखि कोभिड - १९ विरुद्धको खोप भेरोसेलको दोस्रो मात्रा लगाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर दोश्रो मात्रा खोप लगाउने कार्यक्रम रहेको बताएको छ।
यस अघि चीन बाट ४४ लाख डोज भेरोसेल खोप ल्याइएको थियो।
जिल्ला स्वास्थ्य कार्यालयले काठमाडौँले जिल्लाका १४५ खोप केन्द्रबाट असोज ४ देखि ६ गतेसम्म ती खोप केन्द्रमा गई खोप लगाउन सम्बन्धीत सबैलाई आग्रह गरेको छ।
जिल्ला स्वास्थ्य कार्यालय, काठमाडौंका अनुसार पहिलो डोज भरोसेल खोप लगाएकाहरुलाई ३ दिनसम्म दोस्रो डोज लगाइने छ।
कार्यालयका प्रमुख बद्रि बहादुर खड्का अनुसार काठमाडौं महानगरपालिकाको ३२ वटै वडामा खोप लगाइँदैछ। वडा भित्रको तोकिएको ठाउँमा कार्ड देखाएर खोप लगाउन सकिने छ।
कीर्तिपुर नगरपालकिामा १० ठाउँ, चन्द्रागिरि नगरपालिकामा १५, नागार्जुन नगरपालिकामा १० , तार्केश्वर नगरपालिकामा ११, दक्षिणकाली नगरपालिकामा ९ बुढानीलकण्ठ नगरपालिकामा १३ , टोखा नगरपालिकामा ११, गोकर्णेश्वर नगरपालिकामा ९, शंकरापुर नगरपालिकाको ९ र कागेश्वरी मनोहरा नगरपालिकाको ९ स्थानबाट भेरोसेल दोस्रो डोज खोप लगाउन लागिएको बताइएको छ।
त्यसैगरी काठमाडौं महानगरपालिकाको हकमा नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज, शसस्त्र प्रहरी अस्पताल, बलम्बु, बीर अस्पताल, रत्नपार्क, शिक्षण अस्पताल, महाराजगञ्ज, निजामती कर्मचारी अस्पताल बानेश्वर, परोपकार प्रसूतीगृह, स्त्रीरोग अस्पताल, थापाथली र वीरेन्द्र सैनिक अस्पताल, छाउनीमा खोप केन्द्र तोकिएको छ।
४० बर्ष वा सो भन्दा माथिका उमेर समूहका नागरिक, विश्व विद्यालय र उच्च माध्यमिक विद्यालयका विद्यार्थी, सार्वजानिक यातायतका चालक र सहचालक, अत्यावश्यक सेवामा कार्यरत व्यक्तिहरू र यस अघि भेरोसेल दोस्रो मात्रा लगाउन छुट भएका व्यक्तिलाई दोस्रो मात्रा दिइने छ ।
स्वास्थ्य कार्यालयका अनुसार पहिलो मात्रा खोप लगाएको खोप कार्ड र विद्युर्तीय दर्ता गरेको पिन्ट वा फोटो सहित नम्बर ल्याएको आधारमा मात्रै खोप दिइनेछ।
यस्तो छ, कोभिड - १९ विरुद्ध खोपको दोश्रो मात्रा लगाउने बारे सूचना ।
