सोमवार, माघ १७ २०७८
माघ १७, सोलुखुम्बु - नेत्रबिक्रम चन्द निकट नेकपा निकट अखिल (क्रान्तिकारी) सोलुखुम्बु जिल्लाका विद्यार्थीले शिक्षा समन्वय इकाइ सोलुखुम्बुका सब-इन्जिनियर पवनकुमार यादव र नविनकुमार सिंलाई कालोमोसो दल्दै जुत्ताको माला लगाएका छन् ।
संगठनले एक बिज्ञप्ति जारी गर्दै सव-इन्जिनियर यादव र सिंले विद्यालय भवन निर्माण गर्दा आर्थिक अनियमितता गरेको भन्दै कालोमोसो दलिएको जनाइएको छ।
सब इन्जिनियर यादव र सिंलाई कालोमोसो र जुत्ताको माला लगाएपछि शिक्षा समन्वय इकाइ कार्यालयको मुख्य द्वारमा विज्ञप्ती टाँस्दै नारावाजी समेत गरेको बताइएको छ ।
क्रान्तिकारीका सोलुखुम्बु संयोजक एकराज राईद्वारा हस्ताक्षर गरिएको विज्ञप्तीमा शिक्षा समन्वय इकाइका सव इन्जिनियरहरु यादव र सिंले जिल्लाको महाकुलुङ गाउँपालिका क्षेत्रको विद्यालय भवनहरु निर्माण गर्दा आर्थिक भ्रष्टचार गरेको उल्लेख गरिएको छ ।
उनिहरुले सव-इन्जिनियरहरु पवनकुमार यादव र नविन कुमार सिंलाई सो रकम विद्यालयलाई फिर्ता गर्न पटक/पटक आग्रह गरेपनि बेवास्ता गरेका कारण सांकेतिक रुपमा कारबाही गरेको र उक्त रकम तत्काल फिर्ता नगरे भौतिक कारबाही गर्ने चेतावनी समेत दिइएको छ ।
सव इन्जिनियरद्वयले महाकुलुङको कैलाश प्राथमिक विद्यालय भवन निर्माण गर्दा १ लाख ९० हजार, पेल्माङ माध्यमिक विद्यालयमा ५० हजार, बाखोर र चेपेल निम्न माध्यमिक विद्यालयमा ३५/३५ हजार र खिरौले निम्न माध्यमिक विद्यालयमा ७५ हजार रुपैयाँ भ्रष्टचार गरेको बिज्ञप्तिमा देखाएको छ ।
