शनिवार, चैत्र ५ २०७८
चैत्र ५, भरतपुर - बिपन्न र घरबाट स्कुल टाढा भएका ६० जना छात्रालाई चितवन स्थित भरतपुर महानगरपालिकाले साइकल वितरण गरेको छ । महानगरले दुई वर्ष अघिदेखि सुरु गरिएको कार्यक्रम अन्तर्गत यस पटक भरतपुरका वडा नं १८, १९ र २० का आठ विद्यालयका ६० छात्रालाई साइकल वितरण गरिएको हो।
एक समारोहका बीच महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख पार्वती शाह ठकुरीले संयुक्तरुपमा पश्चिम चितवनको भीमनगर माविबाट साइकल वितरण गरेको थियो।
महानगरपालिकाले ‘महिलासँग मेयर’ कार्यक्रम अन्तर्गत साइकल वितरण गरेको बताइएको छ। महानगरपालिकाको सामाजिक महाशाखाका अनुसार यसअघि समेत महानगरले आर्थिक अवस्थाले बिपन्न ५२४ छात्रालाई साइकल प्रदान गरिसकेको जनाएको छ।
भरतपुर महानगरपालिका प्रमुख (मेयर) रेनु दाहलका अनुसार विद्यालय शिक्षामा छात्राको शैक्षिक निरन्तरताका लागि लक्षित वर्गका किशोरीलाई साइकल हस्तान्तरण गरेको बताउनु भयो। उहाँले महानगरले यस वर्ष १० वडाका २०० छात्रालाई साइकल वितरण गर्ने योजना बनाएको समेत जानकारी दिनुभयो।
मेयर दाहालका अनुसार बाँकी रहेका वडाका विद्यालयलाई केही दिनमा साइकल वितरण गरिने उनले बताए। सो अवसरमा मेयर दाहालले विकासको गतिले अगाडि बढेको भरतपुरमा शैक्षिक सुधारका लागि स्थानीय सरकारले गर्नुपर्ने शैक्षिक सुधारकै कारण पाँच हजारभन्दा बढी विद्यार्थी सामुदायिक विद्यालयमा बढेको समेत जानकारी दिए। उनले महानगरका विद्यालयलाई छात्रामैत्री र प्रविधिमैत्री बनाउन लागिपरेको बताए।
कार्यक्रममा मेयर दाहलले महानगरपालिकाले छात्रालाई नै लक्षित गरी निःशुल्करुपमा सेनेटरी प्याड वितरणदेखि स्कुल बस प्रदानसहितका शैक्षिक सुधारका आधा दर्जन बढी काम गरेको बताए। महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौडेलले महानगरको शैक्षिक सुधार नीतिले यहाँ शैक्षिक आर्कषण बढेको बताए। रासस