सोमवार, फाल्गुण ८ २०७९
फागुन, ८ काठमाडौ । पोखरा विश्वविद्यालयको १८औँ दीक्षान्त समारोह सम्पन्न भएको छ। सात हजार ९ सय ९९ विद्यार्थी दिक्षित गर्दै बिश्वबिद्धालयको केन्द्रिय कार्यलयको प्राङ्गणमा उक्त समारोह सम्पन्न भएको हो।
पोखराको ढुङ्गेपाटनस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालय प्राङ्गणमा सम्पन्न भएको दिक्षान्त समारोहमा प्रधानमन्त्री तथा कुलपती प्रचण्डले वि.सं. २०७९ माघ २० गतेसम्म ट्रान्सक्रिप्ट लिएका विभिन्न शैक्षिक कार्यक्रममा उत्तीर्ण विद्यार्थीलाई दीक्षित गर्नुभयो।
दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कुलपति एवं प्रधानमन्त्री प्रचण्डले मुलुकको राजनीतिक, आर्थिक, सामाजिक एवं शैक्षिक रूपान्तरणका लागि आवश्यक जनशक्ति पोखरा विश्वविद्यालयले उत्पादन गर्नेमा विश्वास व्यक्त गर्नुभयो। उहाँले राष्ट्रिय शिक्षा नीति, २०७६ को उद्देश्यअनुरूप ज्ञानमा आधारित समाज र अर्थतन्त्र निर्माणका लागि उच्च शिक्षाको पहुँच र गुणस्तर अभिवृद्धि गरी विभिन्न क्षेत्रमा सक्षम नेतृत्व प्रदान गर्न योग्य, दक्ष, वैज्ञानिक, नवप्रवर्तनात्मक, अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी र अनुसन्धानमुखी मानव संशाधन विकास गर्ने दिशामा विश्वविद्यालय अगाडि बढ्नुपर्नेमा उनको जोड दिनुभयो । 
प्रधानमन्त्री दाहालले नेपालको संविधानले व्यवस्था गरेबमोजिम निःशुल्क शिक्षाको हकलाई व्यवहारमा कार्यान्वयन गर्न संघीय शिक्षा ऐनको अन्तिम तयारी भइरहेको जानकारी पनि दिए ।
दिक्षान्त समारोहका अवसरमा विभिन्न विधाका पाँच सय ७२ विद्यार्थीलाई डीन लिष्टको उपाधिबाट सम्मानित गरिएको थियो । त्यस्तै पोखरा बिश्वबिद्धालय अन्तरगतका कलेजहरुबाट स्नातकोत्तर तहमा एमबिए प्रोग्राममा सर्वोकृष्ट नतिजा हासिल गर्ने एक विद्यार्थीलाई लक्ष्मी स्वर्ण विद्या पदक, २०७९ बाट सम्मान गरिएको थियो भने विज्ञान तथा प्रविधि सङ्कायअन्तर्गत स्नातक तहमा बिसिए प्रोग्राममा सर्वोकृष्ट नतिजा हासिल गर्ने एक विद्यार्थीलाई असिम गोल्ड मेडल, २०७९ बाट सम्मान गरिएको थियो।
पोखरा विश्वविद्यालयले यस वर्ष व्यवस्थापन सङ्कायबाट विद्यावारिधि गर्ने एक विद्यार्थीलाई कुलपति पदक, स्नातकोत्तर तहका विभिन्न कार्यक्रममा सर्वोकृष्ट अङ्क प्राप्त गर्ने ११ विद्यार्थीलाई कुलपति पदक र स्नातक तहमा सर्वोत्कृष्ट अङ्क प्राप्त गर्ने एक विद्यार्थीलाई उपकुलपति पदकबाट विभूषित गरिएको थियो ।
भारतको नोएडा अन्तर्राष्ट्रिय विश्वविद्यालय (एनआइयू) का उपकुलपति प्रा डा उमा भारद्वाजले गुणस्तरीय शिक्षाबाट विश्व बजारमा प्रतिस्पर्धी उच्चस्तरीय जनशक्ति उत्पादन गरी देशको विकासमा लाग्नुपर्नेमा जोड दिए। उच्चस्तरीय जनशक्ति उत्पादन गर्नका लागि अध्ययन, अध्यापन, अनुसन्धान तथा अन्य पक्षलाई अगाडि बढाउँदै लानुपर्नेमा उनको जोड थियो ।
विश्वविद्यालयका उपकुलपति प्रा डा अर्यालले विश्वविद्यालयले विद्यार्थी अध्ययनका लागि विदेश जानबाट रोक्न आकर्षक छात्रवृत्तिको व्यवस्था गरेको जानकारी दिए ।