मंगलवार, आषाढ ५ २०८०
काठमाडौं महानगरले हालसम्म छात्रवृत्तिको विवरण नपठाएका ३९ निजी विद्यालयहरूलाई १ लाख रुपैयाँसम्म जरिवाना तिराएर थप एक पटक विवरण बुझाउने मौका दिने निर्णय गरेको छ। महानगर प्रमुख बालेनले बिवरण नबुझाएका संथालाई एक पटक मौका दिने र त्यसपश्चात् समेत विवरण नबुझाएमा विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गर्ने जनाएको छ ।
काठमाडौ महानगर प्रमुख बालेनले भनेका छन्, ‘हालसम्म विवरण नपठाएका विद्यालयहरूलाई १ लाख रुपैयाँसम्म जरिवाना तिराएर थप एकपटक विवरण बुझाउने मौका दिइनेछ । त्यसपश्चात् पनि विवरण नबुझाएमा काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५७ को उपदफा ४ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गर्ने गरी कारबाही गरिनेछ ।’
काठमाडौं महानगरपालिकाले ताकेता गरेपछि महानगरभित्र रहेका ५०४ निजी विद्यालयमध्ये ४६५ ले छात्रवृत्तिको विवरण बुझाएका छन् । मेयर बालेन शाहले छात्रवृत्ति विवरण बुझाउने विद्यालयको सूची सार्वजनिक गरिने बताएका छन् । मेयर बालेनले ४६५ निजी विद्यालयबाट लक्षित वर्गका १३००० भन्दा बढी विद्यार्थीहरूले विभिन्न किसिमका छात्रवृत्ति प्राप्त गरेको बताएका छन् ।
