बुधवार, भाद्र १३ २०८०
भदौ, १३ काठमाडौ । संस्कृत माध्यमिक विद्यालय र भानु माध्यमिक विद्यालयको नाम आउने शैक्षिकसत्र देखि दरवार हाइ स्कुल रहने भएको छ। काठमाडौ माहानगरले दरबार हाईस्कुलको हाताभित्र सञ्चालित दुई विद्यालयलाई एक बनाएर पुरानै अस्तित्वमा फर्काउने निर्णय गरेको हो।
काठमाडौ महानगरपालिकाभित्र संस्कृत माध्यमिक विद्यालय र भानु माध्यमिक विद्यालयको नाम हटाएर एउटै ‘दरबार हाईस्कुल’ मात्र राख्ने तयारी थालेको छ महानगर शिक्षा बिभागले जानकारी दिएको छ। एउटै भवनामा दुई विद्यालय सञ्चालन हुँदा दरबार हाईस्कुलको अस्तित्व खुल्न नसकेको हुँदा यस्तो तयारी थालेको शिक्षा विभागका प्रमुख सिताराम कोइरालाले बताए । कोइरालका अनुसार एक हजार विद्यार्थीको क्षमता रहेको यस विद्यालय भवनमा एउटै व्यवस्थापनले सञ्चालन गर्ने छन् ।
विसं १९१० मा राणाका छोराछोरी पठनपाठन गराउने उद्देश्यले तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाका पालामा स्थापित भएको उक्त बिद्यालय लामो इतिहास बोकेको विद्यालय भएकाले पनि यसको अस्तित्व जोगाउनु काठमाडौ महानगरको कर्तव्य हो कोइरालाले भने । ऐतिहासिक महत्व बोकेको यो स्कुललाई काठमाडौ महानगरले गत बर्ष देखी नमूना विद्यालयको रुपमा सञ्चालन गर्दै आएको छ ।
ऐतिहासिक धरोहर मानिने दरबार हाईस्कुलमा कुनै समय विद्यार्थीको अभावमा जेनतेन सञ्चालित भए पनि पछिल्लो समय नवनिर्मित भवन, सफा खाजा घर तथा थोरै लगानीमा अङ्ग्रेजी माध्यममा पढाइ हुने भएपछि अहिले भने प्रशस्त विद्यार्थी छन् ।
ऐतिहासिक र पुरानो विद्यालय भएकाले सुरुको समयमा सम्पन्न परिवारका छोराछोरीले मात्र अध्ययन गर्ने गरेका थिए । कुनै समय श्रमिकका छोराछोरी मात्र पढ्ने गरेको यस विद्यालयमा अहिले सरकारी कर्मचारी तथा स्थानीयवासीका छोराछोरीको आकर्षण बढी रहेको विद्यालय व्यवस्थापनले जानाएको छ ।
आठ वर्षअघिको भूकम्पपछि पुरानै स्वरूपमा पुनःनिर्माण गरिएको उक्त स्कुल नौ रोपनी जमिनमा निर्माण गरिएको चार तले सो विद्यालय भवनमा ४० कक्षा कोठा छन् ।
भूकम्पपछि चीन सरकारको पूर्ण सहयोगमा चिनियाँ कम्पनी साङ्घाई कन्स्ट्रक्सनले उक्त विद्यालय भवनको पुन:निर्माणको शिलान्यास विसं २०७५ साउन १८ गते गरिएको थियो ।