Oct 02 2026 | २०८३, आश्विन १६ गते

त्रिभुवन बिश्वबिद्धालय

चारवर्षे स्नातक कार्यक्रम पुन: ३ वर्षे बनाउने तयारी

चारवर्षे स्नातक कार्यक्रम पुन: ३ वर्षे बनाउने तयारी

  • 915
    SHARES

  • चारवर्षे स्नातक कार्यक्रम पुन: ३ वर्षे बनाउने तयारी

    फागुन, ११ गते काठमाडौ । नवनियुक्त उपकुलपतिको पदबहाली संगै चारवर्षे स्नातक कार्यक्रम पुन: ३ वर्षे बनाउने तयारी गरेको छ । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडा केशरजङ्ग बरालले स्नातक तहको कार्यक्रमलाई पुनः तीनवर्षे बनाइने जानकारी दिएका हुन्।

    विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आज पदबहाली गरेपछि त्यहाँ उपस्थित विभागीय प्रमुख, कर्मचारी तथा प्राध्यापकहरूलाई सम्बोधन गर्दै उपकुलपति प्राडा बरालले चारवर्षे स्नातक कार्यक्रम लामो हुँदा विद्यार्थी र अभिभावकको लगानी बढ्नाका साथै त्रिविको कार्यसञ्चालनमा पनि असहजता थपेको भन्दै स्नातक कार्यक्रम पुन: ३ वर्षे बनाउने तयारी गरेको जानकारी दिएका छन्।

    ‘बाहिरको शिक्षा प्रणाली अनुकूल बनाउन जनाउँदै चारवर्षे गरियो तर छिमेकी भारत, युरोपेली मुलुकलगायत थुप्रै ठाउँमा अहिले पनि तीनवर्षे स्नातक कार्यक्रम नै चलिरहेको छ’, उनले भने । अमेरिकालगायत केही देशमा चारवर्षे स्नातक तहका कार्यक्रम सञ्चालनमा रहेको उल्लेख गर्दै उपकुलपति बरालले भने, ‘त्यस्ता देश वा त्यस्तै चारवर्षे विषय पढ्न जान चाहने विद्यार्थीका लागि तीनवर्षे कोर्ष सकेपछि थप एक वर्षको छुट्टै मानार्थ उपाधिका कार्यक्रम चलाउन सकिन्छ ।’

    विश्वविद्यालयका केही कार्यक्रममा विद्यार्थी सङ्ख्या अत्यन्त न्यून र केहीमा शून्य रहेकातर्फ औँल्याउँदै उनले अहिले मानविकी सङ्कायमा अरू कार्यक्रमको तुलनामा कम विद्यार्थी भर्ना हुने गरेको बताए । यसको समाधानका लागि मानविकीलाई सबै सङ्काय र कार्यक्रमबाट आउन मिल्ने (मल्टी डिसिप्लिनरी लिवरल आर्ट) का रूपमा पुनः संरचना गरिने जानकारी पनि उनले दिए । शिक्षा सङ्कायका कार्यक्रमलाई पनि सबै विषयबाट प्रवेश गर्न मिल्ने बनाइन उनले बताए ।

    साथै उनले विषयको विशिष्टताका कारण केही विषयका स्नातक कार्यक्रम भने चारवर्षे वा पाँचवर्षे हुनसक्ने बताए । यसअघि त्रिविले २०७१ /०७२ सालदेखि व्यवस्थापन सङ्काय तर्फ चारवर्षे स्नातक कार्यक्रम सुरुआत गरेको थियो ।

    पदभारग्रहण कार्यक्रममा बोल्दै उपकुलपति बरालले केही वर्षयता त्रिविको संरचना ठूलो र भद्दा भएको चर्चा गरिने उल्लेख गर्दै उपकुलपति बरालले यसको पुनः संरचनाका लागि आफू तयार रहेको बताए । ‘त्रिविलाई अब विस्तार होइन पुनः संरचनाको खाँचो छ’, उनले भने ।

    उपकुलपति प्राडाबरालले त्रिविका शैक्षिक कार्यक्रमहरूलाई उत्पादन र बजारसँग जोड्न आफू लागिपर्ने बताए । देशको मौलिक र रैथाने ज्ञानलाई विश्वविद्यालयको प्राज्ञिक अध्ययन–अनुसन्धानसँग जोड्नका लागि दीर्घकालीन योजना बनाइने जानकारी पनि उनले दिए ।

    ‘तराईका राजवंशी र पहाडका मगरले उत्पादन गर्ने कासवा होस् वा चिउरीका उत्पादनको विकास, विश्वविद्यालयले त्यसतर्फको अध्ययन–अनुसन्धानमा जोड दिनेछ’, उनले भने । साथै हिमाली उपचार पद्धति आम्ची र आयुर्वेदिक अध्ययन–अनुसन्धानका कार्यक्रममा पनि विशेष जोड दिएर उठाइने उनले बताए ।

    यसैगरी, देशको विशिष्टताअनुरूप पर्वतारोहणको उच्चशिक्षाका लागि विशेष योजना ल्याइने र विदेशी विश्वविद्यालयसँग ज्ञान आदानप्रदानका कार्यक्रममार्फत अघि बढाइने पनि उपकुलपति प्राडा बरालले बताए । होटल व्यवस्थापनमा अध्ययनसँगै कमाईको अवधारणालाई त्रिवि कार्यक्रमभित्रै समेटेर अघि बढाइने पनि उनले बताए ।

    प्राडा बराललाई निवर्तमान कार्यवाहक उपकुलपति शिवलाल भुसाललगायत त्रिविका वरिष्ठ कर्मचारी तथा प्राध्यापकहरूले स्वागत गरेका थिए ।

     

    images
    शुक्रवार, फाल्गुण ११ २०८००८:२९:२२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार